देशका मुख्य सहरहरुबाट दशैं मनाउन घर फर्कनेहरु भीड थामिनसक्नुको छ । बसपार्कहरुमा टिकट काट्नेहरुको घुइँचो छ ।चाडपर्वको बेला हरेक वर्ष यस्तै दृष्य देखिन्छ । राजमार्गमा गाडीको लामो लाइन हुन्छ । टिकट पाउन उस्तै हैरानी व्यहोर्नुपर्छ । अनि गन्तब्यसम्म पुग्दा त्राहीमाम् बन्नुपर्छ । चाडपर्वको बेला दुःखद घटना सुन्न नपरोस्, यात्रुहरु सुरक्षित तवरले गन्तव्यमा पुगून् भन्ने सबैको चाहना हुन्छ । तर, दुर्भाग्य दशैं लागेसँगै दिनहुँ दुर्घटनाका दुःखद खबरहरु आइरहेका छन् । नेपालको राजमार्गहरु यसै पनि सुरक्षित छैनन् । बर्खायाममा बाढी र पहिरोले भत्काएको राजमार्ग मर्मत भइसकेकै छैन । ग्रामीण सडकको अवस्था त झन डरलाग्दो छ । यस्तोमा सावधानीपूर्वक सवारी चलाउनुको विकल्प हुँदैन । तर, सिजनको बेला आरामबिना काममा खटिने चालकहरुले कहिलेकाहिँ जिम्मेवारी बिर्सन्छन् । थाकेका चालकहरु निदाउने वा झकाउनु पनि दुर्घटनाको कारण बनिदिन्छन् ।
मर्मत–सम्भारबिनै गुडिरहेका गाडीको इञ्जिन, क्षमताभन्दा बढी यात्रु बोकने प्रवृत्ति, ट्राफिक नियमको पालना नहुनुले पनि दुर्घटना निम्त्याइरहेको हुन्छ । चाडपर्वको हुने सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले विशेष योजना बनाएको छ । यही उपक्रममा गण्डकी ट्राफिक प्रहरी कार्यालयले प्रदेशका ११ वटै जिल्लामा सतर्कतापूर्वक अभियान चलाएको जानकारी गराएको छ । सवारी साधनको अवस्थादेखि, बढी भाडा असुली,मादक पदार्थ सेवनसम्मका गतिविधि परीक्षणको लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । यसका अलावा यात्रु सहायता, आपतकालीन उद्धार टोलीको पनि व्यवस्था गरिएको छ । यी यावत् व्यवस्थाहरु यात्रुको सुरक्षाको लागि परिलक्षित भएका हुन् । ट्राफिक प्रहरीले भीडभाडको बेला सक्रियता देखाउनैपर्छ । नागरिकको सुरक्षा खातिर परिवार बिर्से र सडकमा खटिएका ट्राफिक प्रहरीहरु धन्यवादका पात्र हुन् । तर, उनीहरुको गतिविधिमाथि पनि यसअघि औंला नउठेको चाहिँ हैन ।
चाडवाडको बेला पाँसो थापेको जस्तो गर्दै घुम्तिमा, असजिलो ठाउँमा चेकजाँच गर्ने, अल्मल्याउने अनि आर्थिक लाभ लिएर अनुचित गर्नेहरुलाई उन्मुक्ति दिने आरोपबाट ट्राफिक प्रहरी मुक्त हुनुपर्छ । उनीहरुको काम नागरिकको सुरक्षा र कानून विपरित व्यवहार गर्नेहरुलाई दण्डित गर्ने हुनैपर्छ । राजमार्गमा हुने दुर्घटनाले बर्षेनी हुने ठूलो मानवीय क्षति कम गराउन चालक र यात्रुहरु पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । बढी लोड भएको गाडीमा नचढ्ने,चालकलाई जिम्मेवार बन्न लगाउने र गलत भएको खण्डमा प्रहरीका उजुरी दिने काम यात्रुबाट अपेक्षित हुन्छ । चालकको जिम्मेवारी त झन महत्वपूर्ण छ । यात्रुसहित आफू र गाडीको सुरक्षालाई केन्द्रमा राख्दै, ट्राफिक नियमको पालना हुनैपर्छ । ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटनाका घटना विरलै हुन्छन् ।
