मनाङमा बाटोबाट चिप्लिएर एकजना अमेरिकी नगारिकको ज्यान गएको छ । घाइते भएका ती अमेरिकीको समयमै उद्धार र उपचार हुनसकेको भए सायद,ज्यान जाने थिएन । धौलागिरी क्षेत्रमा पर्यटकहरु हराएको तथा खराब मौषमका कारण यात्रामा कठीनाइ भएका समाचारहरु आइरहेका छन् । कोभिडले थला पारेको पर्यटनमा यसवर्ष आशाको संचार भएको थियो । पर्यटकहरुको आवागमनबाट व्यवसायीहरु उत्साहित भएका थिए । तर, खराब मौषमले यो उद्योगमा क्षति पु¥यायो । पर्यटकहरु बाटैबाट फर्कनुपर्ने अवस्था सिर्जना भयो । जसले गर्दा गण्डकी र सिंगो नेपालको पर्यटन उद्योगमा लाग्नेहरु निराश बन्नुपर्ने अवस्था आयो ।
जापानी भिक्षु इकाई कावागुचीले जस्तै पोखरालाई भूधरातलको स्वर्ग नै मान्छन् । अमेरिकी गायक जोन लेननका चेलाचपेटा बनेर पोखरा छिरेका उहिलेका हिम्पी हुन् वा अहिलेका गोरा नै किन नहुन् ? पोखरालाई सबैले मन पराउँछन् । यही मनपराइसँग यहाँको पर्यटन अडिएको छ/जोडिएको छ ।
पोखरा र तालतलैया, सुन्दर भूपरिदृष्य अनि अन्नपूर्ण र धौलागिरी हिमालले पोखरालाई विशिष्ठ पहिचान दिएको छ । अझ, यही प्रदेशमा पर्ने विश्वकै रुचाइएको अन्नपूर्ण पदयात्रा मार्ग तथा उपल्लो मुस्ताङ, मनास्लु अनि मुक्तिनाथको यात्राले पनि पोखरालाई घुम्नै पर्ने ठाउँ बनाएको छ ।
मान्छे आए, पोखरामा बास खोज्न थाले । बासको जोहो गर्नेहरुको आवश्यकतालाई पूरा गर्न यहाँ होटलहरु खुले । खाना खुवाउनैको लागि रेष्टुराँहरु जन्मे । पर्यटनमा ठूलै लगानी हुँदै गयो । लगानी अनुसारको प्रतिफलले व्यवसायीहरु उत्साहित बने । लगानी थपिँदै गयो । अहिले पोखरा र आसपासको क्षेत्रको पर्यटन व्यवसायमा अरबौंको लगानी भएको छ । विश्वमा नेपालको बढ्दो प्रचार, आन्तरिक पर्यटनको चाप एवं सरकारी तवरबाट घोषित भ्रमण वर्षजस्ता कार्यक्रमहरुले लगानी बढाउन सहायक भूमिका निर्वाह गरे । आशामुखी हुनु व्यवसायीको धर्म हो ।
लगानीकर्ताले त्यही धर्म निभाए अनि मन खुलेर पूर्वाधारमा लगानी गरे । भोलि पनि लगानी गर्नेछन् । किनकि, पर्यटन मर्नें छैन । तर, सोचेजस्तो नहुने रहेछ । अघिल्ला २ वर्ष कोभिडले पर्यटनमा ठूलो असर ग¥यो । पोखराको गुल्जार मानिने लेकसाइड मात्रै हैन,अन्नपूर्ण पदयात्रा मार्ग, मुक्तिनाथलगायतका सबै क्षेत्र खाली रहे ।
पर्यटनमा गरिएको लगानीको किस्ता र ब्याज कसरी तिर्ने भन्ने समस्याले व्यवसायीहरु हैरान भए । सुनौला दिन आउलान् भन्ने व्यवसायीहरुको आशा छ । तर, यो आशामा विभिन्न बाधाहरु उत्पन्न भएका छन् । त्योमध्ये पर्यटनको सुरक्षा एउटा महत्वपूर्ण पाटो हो ।
नेपालको रोडहरु सुरक्षित छैनन् । निश्चित समय छुट्टयाएर घुम्न आएका पर्यटकहरु बाटोका खराबीका कारण यात्रा टुंग्याउन बाध्य हुन्छन् । घण्टौं बाटोमा हुने जामाले पनि उनीहरुलाई सास्ती दिन्छ । मुख्य कुरा,पर्यटकले सुरक्षा खोज्छन् । हाम्रा पदयात्रा मार्गहरु सुरक्षित नहुँदा पर्यटन आवागमन रोकिनसक्छ ।
मुखमुखै प्रचार भएको नेपालको पर्यटन उद्योगलाई क्षति पुग्नसक्छ । यतातर्फ सरोकारवाला निकायहरुले ध्यान दिनुपर्छ । पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
