शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका जोशीले आइतबार भौतिक चोला छाडेका हुन् । १०३ वर्षका जोशीलाई आज राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ गरिएको छ । मुलुक देखेका र देखेका सत्यमोहन जोशीले नेपाल र नेपालीलाई ठूलो गुन लगाएका छन् । २००६ सालमा नेपालको पहिलो नक्सा बनाउने टिममा बसेर उनले काम गरेका थिए ।
नेपालमा आधुनिक तथ्याङ्क संकलनको काम गर्ने जिम्मेवारी पनि उनले कुशलतापूर्वक पूरा गरे । राणा, पञ्चायत, बहुदल र गणतन्त्र भोगेका सत्यमोहनले कहिल्यै आराम गरेनन् । निरन्तर अध्ययन र अनुसन्धानमै लागिरहे । भाका,गीत संकलनमा उनले गरेको योगदान त झन बहुमूल्य नै छ । लोकसंस्कृति संरक्षणमा उनले जे गरेका छन्, त्यो नेपालको बहुमूल्य सम्पत्ति बनेको छ । जुन उनले हामीलाई छाडेर गएका छन् । नेपालीको मौलिक पहिचान के हो भन्ने बुझ्नको लागि सत्यमोहन तथा उनले गरेको परिश्रम सम्झनुपर्ने बनाइदिएका छन् ।
पुरातत्व र सांस्कृतिक विभागमा बसेर उनले जे गरे, देशका लागि गरे । लोकसंस्कृति भन्ने पुस्तक लेखेर उनले नेपाली लोकसंस्कृतिका विविध पाटाहरु जनसमक्ष ल्याइदिए । उनले लेखेको नेपाली मुद्रा पुस्तकप नि उत्तिकै महत्वपूर्ण दस्ताबेज बन्नपुग्यो । खस सभ्यताको खोजी,अरनिको नेपालको भएको तथ्य पत्ता लगाउने श्रेय पनि उनै सत्यमोहनलाई जान्छ । नेपाली कला,संस्कृति र साहित्यमा गरेको योगदानले उनी अजम्बरी बनेका छन् ।
मृत्यु शाश्वत सत्य हो । जन्मेपछि जानु नै पर्छ । तर, सत्यमोहनको जस्तो सार्थक जीवनले मानिसलाई सत्कर्मको प्रेरणा दिन्छ । उनले जे गरेका छन् र राष्ट्रलाई जे दिएका छन् । त्यसबाट आममान्छेले प्रेरणा लिनुपर्छ । सत्यमोहनले बाँचेको दीर्घजीवन सकारात्मक सोच र सिर्जजनशीलताका कारण सम्भव भएको हो । सकारात्मक र सिर्जनशील जीवनले आयू र आरोग्य दुवै बढाउँछ । उनको बिदाइ गरिरहँदा अभाव खट्कने त छँदैछ तर उनीबाट प्रेरणा लिँदै सत्कर्म गर्नसके उनीप्रति सच्चा श्रद्धासुमन अर्पण हुनेछ । शताब्दी पुरुषप्रति हार्दिक श्रद्धाञ्जली ।
