बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्याराग्लाइडिङ : नियमन गरौं, नरोकौं

प्याराग्लाइडिङ : नियमन गरौं, नरोकौं


  • Dhorpatan News
  • कार्तिक १ २०७९, मंगलबार

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा एक खेलाडीले ज्यान गुमाएका छन् । नेपाली सेनाको तर्फबाट प्रतियोगितामा प्रतिनिधित्व गरेका निसिम थापाको निधनले सिंगो खेलकुद क्षेत्र नै स्तब्ध बनेको छ । प्याराग्लाइडिङमा ज्यान गुमाउने निसिम पहिलो व्यक्ति हैनन् । यसअघि नै १६ जनाले प्याराग्लाइडिङका क्रममा ज्यान गुमाइसकेका छन् । निसिमको निधनले हावामा कावा खाने यो खेल तथा व्यावसायिक उडान कति सुरक्षित भन्ने प्रश्न पुनः सतहमा आएको छ । नियमनकारी निकाय नागरिक उड्यन प्राधिकरण (क्यान)ले देशैभर प्याराग्लाइडिङका उडानमा रोक लगाएको छ । नवौं राष्ट्रिय प्रतियोगिता तथा यसअघि १४ औं सागमा समावेश गरिएको प्याराग्लाइडिङ प्रतियोगिता अनिश्चित बनेको छ ।

प्याराग्लाइडिङ साहसिक खेल हो । बिना इञ्जिन ग्लाइडरलाई डोरीको सहायताले हावामा उडाउने यो खेल नेपाल भित्रिएको ३० वर्षभन्दा बढी भयो । बेलायती प्यारा पाइलट एडम हिलको सहयोगमा सन् १९९४ मा नेपाली नागरिक विरु बम्जनले पोखराबाट प्याराग्लाइडिङको व्यावसायिक यात्रा थालनी गरेका हुन् । विदेशीले नेपाली आकासमा कावा खाने यो साहसिक खेल पर्यटन प्रवद्र्धन र विदेशी मुद्रा आर्जनको स्रोत बन्छ भन्ने ठानेर ने विरुले सनराइज प्याराग्लाइडिङ कम्पनी स्थापना गरेका थिए । भयो, त्यस्तै । प्याराग्लाइडिङले व्यावसायिक रुप लियो । स्वतन्त्र रहेका प्याराग्लाइडरहरुलाई नेपाल हवाइ उड्ड्यन प्राधिकरणले नियमन ग¥यो । यसले नेपाली पर्यटन र अर्थतन्त्रलाई राम्रै योगदान दिइरहेको छ ।

सँगै यसमा विकृति पनि भित्रिए । जथाभावी उडान भर्ने, अदक्ष व्यक्तिले प्याराग्लाइडिङ उडाउने र लापरवाही गर्नेसम्मका कृत्यहरु भए÷हुँदैछन् । प्याराग्लाइडिङ व्यवसायीहरु संगठित भएका छन् । नियमनकारी निकायले नियमन गरिरहेको छ तर बेलाबेला संचालन र सुरक्षालाई लिएर प्रश्न उठ्न छाडेको छैन । पोखराको पर्याय बनेको अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै अन्यत्र सार्नुपर्ने तर्ककै बीच अहिले भएको दुर्घटनाले कतै प्याराग्लाइडिङ विस्थापनमा पर्ने त हैन भन्ने आशंका उत्पन्न भएको छ ।

सबैजसो साहसिक खेलहरुमा दुर्घटनाको खतरा रहन्छ । खेलाडीको सचेतता,दक्षता र नियमनकारी निकायको निगरानीले दुर्घटना रोक्न सकिन्छ । प्याराग्लाइडिङको सवालमा पनि यही सत्य लागू हुन्छ । दुर्घटना भयो भन्दैमा प्याराग्लाइडिङ खेल नै रोकेर हैन कि सुरक्षाका प्रबन्ध गरेर सञ्चालन गर्नु बुद्धिमानी हुन्छ । नेपाल र पोखराको एउटा पर्यटकीय प्रडक्टमाथि निर्मम प्रहार गरिनुहुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->