लामो समयपछि नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिता संचालनमा आएको छ । हरेक दुइ दुइ बर्षमा गर्ने भनिएको खेलको ४० बर्षे इतिहासमा जम्मा ९ वटा मात्रै खेल हुन सके । नियमित रुपमा भएको भए अहिले सम्म २० वटा राष्ट्रिय खेल प्रतियोगिता हुन सक्थे । ढीला र पटक पटक सरेर यो खेल भएको छ । यो संस्करण पनि झण्डै ५ बर्षपछि मात्र संचालन भएको हो ।
समयमा खेल प्रतियोगिता मात्र हैन, नेपालमा धेरै क्रियाकलाप समयमा नहुने रोग लागेको छ । खेल बिशेषगरी राष्ट्रिय एकताको प्रतिक हो । खेलमा हजारौंले राष्ट्रिय झण्डा उठाएर एकता बद्ध भएको देखिन्छ । देश भित्रको खेल होस् वा बिदेशमा गएर खेल्ने होस्, ती सबै खेलले नेपालीलाई एकतामा बाँधेको छ । तर हामीले त्यही खेलपनि समयमा संचालन गर्न नसक्दा खेल क्षेत्रमा आकर्षित भएका हजारौ युवाहरु दुव्र्यसनीमा फसेका छन् । समयमा संचालन हुने प्रतियोगिताको निश्चित हुँदा अहिले सुधार केन्द्रमा बस्ने सयौं युवा खेलमा सक्रिय भएर मेडल पहिरिने अबस्थामा पुग्ने थिए ।
त्यसो त अहिले भएको खेलपनि सहजै भएको छैन । खेलाडी र खेल क्षेत्रका अगुवाको लामो दवावपछि मात्र संचालनमा आएको हो । खेल खेलाउने स्थानमा एक बर्ष अघिनै पूर्वाधार बनाउनुपर्नेमा खेलको साता अघि कसलाई जिम्मा दिने भन्ने हतारो भएको देखियो । बागलुङमा पनि हतार हतारमा पूर्वाधार बनाएर खेल खेलाइएको हो । त्यो पनि राष्ट्रिय खेलकुँद परिषदले होइन, बरु स्थानीय व्यवस्थापनको रुपमा बागलुङ नगरपालिकाले लगानी गर्दा यो खेल संभव भएको हो । त्यसो त म्याग्दी र पर्वतमा पनि स्थानीय व्यवस्थापकले नै लाखौं लगानी गरिदिएका छन् । राष्ट्रिय खेलकालागि भन्दै राखेप र सरोकार निकायले भोली के कति खर्चको बील भरपाइ निकाल्छन् हेर्न बाँकी छ तर व्यवस्थापन गर्न अगाडि तम्सेको संस्था मात्र हैन, बिभागीय रुपमा परिचित जिल्ला खेलकुँद बिकास समितिलाई समेत कुनै वास्ता नगरेको गुनासो आएको छ ।
राजनीतिक दलको कार्यक्रम, नेता सहभागि हुने वा अनावस्यक खर्चमा समेत करोडौं खर्चने सरकारले खेलको बिकासमा कुनै लगानी गरेको छैन । खेलमा बिभागीय टिमले लगातार जित निकाल्दा कतिपय प्रदेशले सामान्य पदक पनि जित्न सकेका छैनन् । राज्यले लगानी गरेको छैन भन्ने त्यहाँ देखिन्छ । जवकी बिभागी टिमले सरकारी तलब खाएर समय पनि पाएर खेलेका छन् । त्यो कुरा खेल मैदानमा पुग्दा स्पष्ट देखिन्छ । त्यसैले खेलाडीको सम्मान मात्र हैन, घट्दो युवा उपस्थितिलाई देशमै अड्याउने हो भने खेल क्षेत्रमा लगानी गर्नुपर्छ । साथै उनीहरुलाई उचित अबसर दिने, बेला बेलामा खेलका प्रतियोगिताहरु राज्यले आयोजना गर्ने जस्ता कामले खेलाडीको मनोबल उच्च हुन्छ ।
राजनीतिक रुपमा बिभाजित युवा तथा नेपालका नागरिक खेलमा एकता बद्ध भएर अगाडि बढेको देखिन्छ । एउटा खेलाडीले अन्तराष्ट्रिय खेलमा एउटा पदक जितेर आएपनि नेपालमा खुसीयाली मनाइन्छ । युवाहरुले एकताको सन्देश दिने गरेका छन् । जिल्ला जिल्लामा खेलको बिकास गर्दा युवामा जोश बढ्छ । साथै खेल क्षेत्र मात्र नभइ खेलसँगै स्वदेशमा अन्य काम पनि गर्न प्रेरणा दिनुपर्नेमा अहिले सम्म नेपालमा खेलको सामान्य पूर्वाधार समेत बिकास गर्न सकिएको छैन । राज्यको कुल बजेट हेर्दापनि खेल क्षेत्रमा १ प्रतिशत सम्म छैन । त्यो तर्फपनि राज्य समयमै गम्भिर बन्नुपर्नेछ ।
