नेपालीको महान चाडपर्व मध्ये तिहार नेपालीको घरआगनमा भित्रिएको छ । तिहार दाजुभाइ दिदी बहिनी बीचको मायाप्रेमको उत्सव र पर्व हो । तर पछिल्लो समय तिहार भाइचारा भन्दा झगडाको बीउ रोप्ने पर्वको रुपमा पनि बिकास भैरहेको छ । जुवातास खेल्ने, जाँड रक्सी पिउने र समाजमा खलल ल्याउने उऋखल क्रियाकलापले चाडपर्वलाई अस्तव्यस्त बनाइदिएका छन् ।
आफ्नो क्षमता भन्दा माथी खर्च गर्ने, जुवातास खेल्ने प्रवृत्तिले चाडपर्वको महत्व घटाएको छ । बरु ऋण खोजेर चाडपर्व मान्ने प्रवृत्तिनै संस्कृति बन्दै गएको छ । यो बिकृति समाजमा भित्रिएर संस्थागत बन्दै जाँदा महंगो पर्व मनाउनु पर्ने बाध्यतामा नेपालीहरु पीडित छन् । देउसी भैलो खेल्ने, मौलीक कला र संस्कृतिको संरक्षण गर्ने, मादल बजाएर गीत गाउँने, फूलका माला लगाउने तथा तेलको दियो बाल्ने संस्कृति हराएर पश्चिमा संस्कृतिका गीतमा भैलो खेल्ने, जवरजस्ती चन्दा उठाउने, फूलका मालाको साटो पैसाको खेल गर्ने चलन बढी छ । सेलरोटी पकाएर खाने संस्कार हराएर रक्सी र मासु खाने संस्कृति बढी छ । यसले नेपालीको दैनिकी खर्चिलो र बिकृतिमा ढल्केको स्पष्ट हुन्छ ।
तिहारलाई रंग र फूलको पर्व भनिन्छ । तर बजारमा नक्कली मालाको चाँङ देखिन्छ । प्लाष्टिक जन्य मालाहरु बिक्रिीमा राखिएका छन् । सरकारले प्लाष्टिक जन्य मालामा रोक लगाउने भनेपनि अहिले सम्म पालना भएको छैन । बरु खुलेआम बिक्री भएका छन् । घरघरमा पकाएर खाने सेल रोटीको जति महत्व छ त्यो भन्दा बजारमा पाइने अखाद्य बस्तु मिसिएका रंगीचंगी रोटी र परिकारले मानिसको ध्यान तानेको छ । हेर्दा राम्रो देखिएपनि मानव स्वास्थ्यमा पर्ने असर बारे जनचेतना फैलाउने काम कसैले गरेको छैन । बरु ती सामानहरु धमाधम बिक्री हुने गर्छन् । गुणस्तर मापनको काम पनि भएको छैन । बरु अनुगमन गर्ने निकायले अन्य बिषयमा चासो राखेको पाइन्छ । गुणस्तर कमजोर भएका सामान तथा अखाद्यबस्तु बेचिएको बिषय चासोको क्षेत्र बन्नु पर्नेमा नभएको हो ।
समग्रतामा हेर्दा तिहार मौतिकता बिर्सेको चाडको रुपमा बढीरहेको छ । त्यसोत तिजमा महिना देखि दरखाने संस्कृतिले ल्याएको बिकृति देखि दशै तिहारलाई महंगो बनाउने चलनले नेपालीको दैनिकी असाध्यै कमजोर बनिरहेको छ । चाडपर्वकालागि घरमै तयार पार्ने खसीबोका देखि धान र अन्य तरकारी अब फल्न छाडेका छन् । आयातित सामानले दशै मान्ने, त्यो पनि महंगो शुल्कमा खानुपर्ने बाध्यता तथा स्थानीय उत्पादन छाडेर बिदेशबाट आयातित सामान खाने हाम्रो संसकार फेरिनु जरुरी छ । चाहे दैनिकीका अन्य काम र उपभोगमा होस् वा दशैतिहार जस्ता चाडपर्वको बिषयमा होस् । चाडपर्व सकिएपछि नेपालीका अधिकांस ग्रामीण जनताको अबस्था ऋण तिर्न नसक्ने खालको छ । त्यो अबस्था नआओस भन्नकालागि समयमै स्थानीय उत्पादनमा ध्यान दिने, मानव स्वास्थ्यको ख्याल गर्ने र पश्चिमा संस्कृतिलाई निमिठ्यान्न पार्ने गरी योजना र कार्यक्रम संचालन गरिनु जरुरी छ । जव सम्म हामीले संस्कार र संस्कृतिमा आँफै धनि बन्न सक्दैनौं, बिस्तारै हाम्रो मौलीक पना नष्ट भएर जानेछ । राजनीतिक परिवर्तन पटक पटक संभव होला, तर सास्कृति बिचलन आयो भने चाहेर पनि पुरानो अबस्थामा फर्कन सकिंदैन ।
