शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तिहारको हार्दिक शुभकामना

तिहारको हार्दिक शुभकामना


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७९, बिहिबार

म्हपूजा र नेपालीहरुको मौलिक नेपाल संवतुपछि आज हामी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाउँदैछौं । तिहारसँगै छठको रौनक सुरु हुन्छ । आइतबार छठ छ । धार्मिक र सांस्कृतिक मान्यतामा अडिएर मनाइने यी शारदीय पर्वहरुले पछिल्ला दिनमा राष्ट्रिय एकताको सन्देशसमेत प्रवाह गरिरहेका छन् ।

नेपाल संवत्सँग शंखधर स्वाख्वाःले काठमाडौंवासीको ऋणमोचन गरिदिएको कथन छ । ऋणमोचनसँग जोडिएका कथाहरु फरक होलान् तर विक्रम संवत् ९३७ सालमा शंखधरले गरीबको ऋणमोचनको लागि जे गरे, त्यो स्तूत्य अनि अनुकरणीय छ । नेपाल संवत् ११४३ को आगमनसँगै नेवार जातिले म्ह पूजा गरेका छन् । आफ्नै शरीरको पूजा गर्ने परम्पराले आत्मशुद्धिको सन्देश प्रवाह गरेको छ ।

तिहारको महत्व अझ व्यापक छ । उज्यालो यो पर्वमा, पशुपंक्षी, धनकी देवी लक्ष्मी र दाजुभाइको पूजा गरिन्छ । मानव जीवनका सहयोगी पशुपंक्षीप्रति कृतज्ञता जाहेर गर्नु सहअस्तित्वको वोध हो । लक्ष्मीको उपासना र दीपावलीसँग समुन्नत जीवनको चाहना लुकेको हुन्छ । र, सबैभन्दा महत्वपूर्ण, यी सबै कृत्य मृत्युका देव अर्थात् यमराजसँग जोडिएको हुन्छ ।

कात्तिकको कृष्णपक्षको द्धादशीदेखि सुरु हुने यमपञ्चकले मृत्युको वोध गराउँछ । आफ्ना दैनिक कर्म छाडेर यमराज बहिनी यमुनाकहाँ पाहुना जाने लगायतका अनेकौं किंवदन्तीको सहारामा यो पर्वले हामीलाई सत्कर्म गर्न उद्यत गराउँदै मृत्युवोधसँगै गराउँछ ।

समृद्धि मान्छेको चाहना हो तर सत्कर्मबाट मात्रै समृद्ध जीवन बाँच्नुपर्छ र जति सम्पत्ति कमाए पनि तिम्रो शरीर नश्वर हो र मृृत्यु अवश्यंभावी छ भन्ने सन्देश पनि तिहारले दिलाउँछ । दाजुभाइ र दिदीबहिनीको सम्बधलाई अझ गाढा बनाउने यो मौलिक पर्व आजकल सर्वग्राह्य भएको छ । यसका साथै घाट र तलाउमा रहेर सूर्यको उपासनासहित मनाइने छठ पर्वले प्रकृतिमाथिको भरोसालाई उजागर गरेको छ । यी चाडपर्वको सुन्दर पक्ष के हो भने, सबैले नेपालीबीच एकता कायम गराउन मद्धत गरेका छन् ।

राजनीतिक रुपले विखण्डनको त्रास भोगको समयमा हिमालदेखि मधेशसम्मका नेपालीलाई जोड्ने काम यी पर्वहरुले नै गरेको हामीले बिर्सनु हुँदैन । सवै जातजाति र भाषाभाषीको साझा बनेको उज्यालोको पर्वसँगै खेलिने देउसी र भैलोले नेपाली मौलिकता पस्केको छ । जुन अन्यत्र कहीँ पाइँदैन । ढोरपाटन संचार प्रालि हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा देश विदेशमा रहेका सबै नेपालीहरुमा तिहारको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->