मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिएको छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरु मत माग्न नागरिकको घरदैलोमा पुगेका छन् । चुनावी घोषणापत्र र प्रतिवद्धता त छँदैछ, त्यसबाहेक उनीहरुले जनतासामु विभिन्न वाचाहरु गरिरहेका छन् । जुम्लेहात गर्दै नागरिककहाँ पुगेकाहरुले खेतबारीको काममा सघाएको नाटक मञ्चन गर्नसमेत भ्याएका छन् ।
जनताकहाँ जानुलाई नराम्रो मानिँदैन । आवधिक निर्वाचनले नेताहरुलाई जनताकहाँ पु्ग्न बाध्य बनाउँछ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । जनअनुमोदित हुन खोज्नेले जनताको मन जित्नैपर्छ । राम्रा योजनाहरु पेश गर्नुपर्छ । यहाँसम्म ठीकै छ । तर, गर्नै नसक्ने कामहरु गर्छु भन्न्ु, जनतालाई भ्रममा पार्ने काम भने गर्नुहुँदैन ।
नेपालको पछिल्लो राजनीति विकृतिपूर्ण हुँदै गएको छ । चुनावको बेलामात्र जनताकहाँ पुग्ने र अरु बेला गाउँमा पाइलै नटेक्ने,व्यक्तिगत स्वार्थमा रमाउनेहरु राजनीतिमा हावी हुँदै गएका छन् । चुनाव जित्न साम,दाम,दण्ड र भेदको प्रयोग गर्न पछि नपर्ने प्रवृत्ति बढ्दो छ । पैसा हुनेहरुले मात्र चुनाव लड्ने वा पार्टीको उम्मेदवार बन्ने उपक्रम बढेर गएको छ । यो सर्वथा गलत छ । योग्य व्यक्तिहरु पछि पारिएका छन् । पैसा हालेर टिकट ल्याएका वा पैसाकै भरमा चुनाव जित्ने महत्वकांक्षा पालेकाहरुबाट विकास र समृद्धिको आशा गर्न सकिँदैन । यी ‘नटवरलाल’ हरुबाट जनता सचेत बन्नुपर्छ । घर–आँगनमा आएका यस्ता नेताहरुलाई प्रश्न सोध्नुपर्छ ।
हिजो के ग¥यौ,अब के गर्छौ ? भन्ने कुरा सोधिएन,उनीहरुको चरित्र बुझिएन भने भोलि पछुताउन पर्छ । चुनावले सेवक छान्ने अवसर प्रदान गरेको हुन्छ । सेवक छान्ने कि शासक छान्ने भन्ने यो अवसरलाई खेर जान दिनु हँुदैन । त्यसैले पनि उम्मेदवारहरुसँग प्रश्न सोध्न छाड्नु हुँदैन ।
