बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भूकम्पीय जोखिम न्यूनीकरण जरुरी

भूकम्पीय जोखिम न्यूनीकरण जरुरी


  • Dhorpatan News
  • कार्तिक २४ २०७९, बिहिबार

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पले ६ जनाको ज्यान लिएको छ । केही घाइते भएका छन् । क्षतिको एकीन विवरण आइसकेको छैन तर पूर्वीचौकी गाउँपालिका ३ का कयौं घरहरु भत्केको र नागरिकको जीवन असुरक्षित भएको खबरहरु सार्वजनिक भइरहेका छन् । डोटीधको भूकम्पले बझाङलगायतका जिल्लामा पनि असर पु¥याएको छ । घर भत्केकाहरु आश्रयको खोजीमा छन् । पुनः भूकम्प आउने हो कि भन्ने उनीहरुको पिरलो छ ।

२०७९ साल कात्तिक २३ को भूकम्पले २०७२ सालको विनाशकारी भूकम्पको स्मरण गराएको छ । वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पको पुनर्निमाण अझै सकिएको छैन । त्यसको पीडाले अझै सताउन छाडेको छैन । भूकम्पपछि देखिएको सुस्त पुननिर्माण, राहत र उद्धारका कार्यहरुको समीक्षा पनि ताजा भएको छ । प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन । भूकम्पबारे त झन भन्नै सकिँदैन । प्राकृतिक विपत्तिपछि सबैभन्दा पहिला आवश्यक पर्ने उद्धार राहतका कार्यक्रम नै हुन् । त्यसको लागि सम्बन्धित निकायहरु सधैं सचेत र तम्तयार अवस्थामा रहनुपर्छ । तर,दुर्भाग्य, नेपालमा त्यस्तो हुन सकेको छैन ।

गोष्ठी र भाषणमा तयारीका कुरा गरिए पनि आइपर्दा पुनः उही नियति दोहोरिन्छ । नेपाल भूकम्पीय दृष्टिले अति जोखिमपूर्ण राष्ट्रमा पर्छ । हरेक वर्षको माघ २ गतेलाई नेपालले भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको छ । हरेक वर्ष दिवस मनाउँदा विभिन्न नारा तय गरिन्छ । सुरक्षित निर्माणको कुरा उठ्छन् । पूर्वतयारीबारे चर्चा गरिन्छ । तर, कागजमा हुने सबै काम व्यवहारमा उतारिँदैन । भूकम्पीय जोखिमबाट बच्नेखालका संरचना निर्माणमा ध्यान दिइँदैन । भौगोलिक अवस्था हेर्ने हो हिन्दकुश हिमालय शृंखलाको अति संवेदनशील मानिने तीन हजार पाँच सय किलोमिटर भूकम्पीय क्षेत्रको आठ सय किलोमिटर क्षेत्र नेपालमा पर्छ ।

यो अति संवेदनशील क्षेत्र हो । जोखिपूर्ण क्षेत्रका बासिन्दाहरु सधैँ सचेत र चनाखो हुनुपर्छ । अर्कोतर्फ,हामीले बनाउने भौतिक संरचनाहरु भूकम्प थेग्ने खालका हुनैपर्छ । तर, दुर्भाग्य ! त्यसो हुन सकेको छैन । साँघुरा र अव्यवस्थित सडकहरू, सहरी क्षेत्रमा पर्याप्त खुला ठाउँको अभाव लगायतका कारणले गर्दा पनि नेपालका अधिकांश सहर भूकम्पीय जोखिममा छन् । यो जोखिम कम गर्न सकिन्छ र यसको लागि दृढ इच्छाशक्ति एवं नीति कार्यान्वयन गराउने नेतृत्व चाहिन्छ । पटक–पटक गएका भूकम्पबाट नीति निर्माता एवं कार्यान्वयन गराउने निकायहरुले चेत्नुपर्छ । मानवीय कारणले थपिने जोखिमबाट मुक्ति पाउने बाटो खोज्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->