बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिथिल अर्थतन्त्रबारे सोचौं

सिथिल अर्थतन्त्रबारे सोचौं


  • Dhorpatan News
  • कार्तिक २९ २०७९, मंगलबार

बढ्दो व्यापार घाटा र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव कम गर्न आयातमा कडाइ गरिएको छ । १५० सीसीका मोटरसाइकलदेखि गाडी, मदिराजन्य पदार्थलगायतका बस्तुहरुको आयात रोकिएको छ । सोधानान्तर घाटा कम गर्न चालिएका यी कदमहरुले विदेशी मुद्रा संचितिमा सुधार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पर्यटनको आशालाग्दो आगमन,विप्रेषणमा सुधार तथा चुनाव र सरकारी खर्च गर्ने प्रणालीमा सुधार हुँदा अर्थतन्त्रमा देखिएको सिथिलता कम हुने नेपाल राष्ट्र बैंकको विश्वास रहेको छ । विदेशी मुद्राको संचिति ह्वात्तै घट्दा नेपाल पनि श्रीलंकाको बाटोमा जाने हल्ला चलेको थियो । तर, राष्ट्र बैंक तथा सरकारले अवस्था त्यति बिग्रिनसकेको भन्दै थामथुम पारेको थियो ।

नेपालको मात्र नभएर विश्व अर्थतन्त्र नै यतिबेला संकटग्रस्त छ । रुस–युक्रेन युद्धका कारण सिर्जित आर्थिक मन्दीले युरोप र अमेरिका पनि प्रभावित भएका छन् । इन्धनमा भएको मूल्यवृद्धिले झन समस्या थपिदिएको छ । विषमतामा अनुकूलता खोज्नैपर्छ । नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाइलाई यही रुपमा बुझ्नुपर्छ । यस्तै नेपालबाट पूँजी बाहिरिएको आशंकामा राष्ट्र बैंकले थालेको कडाइ र निक्षेपमा ब्याजवृद्धि गर्न दिएको छुट, चालु पूँजी कर्जामा निर्धारण गरिएको नयाँ सीमालगायतले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको राष्ट्र बैंकको जिकिर छ । तर,अर्थतन्त्र अझै जटिल अवस्थामै रहेको तथ्याङ्कहरुले पुष्टि गरेका छन् । बढ्दो सरकारी खर्च र त्यस अनुरुप राजश्व नबढ्दा यो अवस्था आएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म लक्ष्यको ८३.३ प्रतिशतमात्र राजश्व उठेको छ । आयातमा कडाइ गरिँदा भन्सारबाट प्राप्त हुने आम्दानी स्वतः घट्छ । तर, आन्तरिक रुपले गरिने आम्दानी पनि यो अवधिमा बढ्न सकेन । मूल्य अभिवृद्धि करबाट जति राजश्व उठ्ने अपेक्षा थियो, त्यो लक्ष्य प्राप्त भएन । राजश्व विभागले यसअघि लक्ष्यभन्दा बढी राजश्व उठाएको विषयलाई महत्वसाथ प्रकाशित गथ्र्यो । राजश्व घटेपछि त्यस्तो अवस्था त रहेन तर अब कसरी राजश्व बढाउने भन्नेबारे सोच्नैपर्ने भएको छ । विकास परियोजना निर्माणको गति बढाउने, आन्तरिक उत्पादनमा जोड दिने तथा राजश्वप्राप्तिका नयाँ बाटाहरु नखोज्ने हो भने आउँदा दिनहरु सहज छैनन् भन्ने सरकारले बुझ्नैपर्ने हुन्छ । सोचेजस्तो राजश्व संकलन भएन भने खर्च गर्ने क्षमतामा संकुचन आउँछ भन्ने तथ्यलाई बेलैमा मनन गर्नुपर्छ । बजारमा तरलताको अभाव छ । ब्याज बढाउँदा पनि सोचेजस्तो निक्षेप संकलन किन भएन भन्नेतर्फ पनि ध्यान दिनुपर्छ । अर्थतन्त्र ट्रयाक बाहिर जानुअघि नै समाधानका उपाय अबलम्बन गर्न ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->