बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतका नौ मतदान केन्द्रको नेतृत्व महिलालाई

पर्वतका नौ मतदान केन्द्रको नेतृत्व महिलालाई


  • संजय रेग्मी
  • कार्तिक २९ २०७९, मंगलबार

पर्वत/ आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका नौ वटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ।

जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ वटामध्ये नौ वटा केन्द्रका मतदान अधिकृतको रूपमा महिलालाई पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको कर्मचारी विवरणमा उल्लेख छ। विवरण अनुसार कुश्मा नगरपालिका–३ को काफलचौर माध्यमिक विद्यालय (ग) केन्द्रमा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रकी सहायक प्रशासकीय अधिकृत रञ्जना कट्टेल, नारायण माध्यमिक विद्यालय (ख) केन्द्रमा नापी अधिकृत निशा अधिकारी, शिवालय माध्यमिक विद्यालय केन्द्रमा पर्यटन तथा उद्योग कार्यालय पर्वतमा कार्यरत अधिकृत मुना अधिकारीलाई खटाइएको छ।

यस्तै युवा वर्ष आधारभूत विद्यालय (ख) केन्द्रमा जिल्ला हुलाक कार्यालयबाट हुलाक अधिकृत सरिता अधिकारी, मंगलोदय माध्यमिक विद्यालय (ख) केन्द्रमा डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत अरुणा पौडेल, सार्वजनिक माध्यमिक विद्यालय (ख) केन्द्रमा जिल्ला कारागारकी प्रमुख शिला श्रेष्ठ, फर्सेधाइरिङ माध्यमिक विद्यालय (ख) केन्द्रमा नवजागृत मा.वि.की शिक्षक रुचिला सापकोटा, जननेत्र माध्यमिक विद्यालय (ख) केन्द्रमा कुश्माको आधारभूत स्वास्थ्य केन्द्रकी जानकी रिजाल शर्मा र सरस्वती माध्यमिक विद्यालय (ख) केन्द्रमा अन्नपूर्ण माविकी शिक्षक अम्बाकुमारी शर्मालाई पठाइएको छ।

अझै बढी संख्यामा महिलाहरूलाई मतदान केन्द्रको जिम्मेवारी दिएर पठाउने गरी प्रयास गरेको भए पनि धेरैले व्यक्तिगत समस्या देखाउँदै निर्वाचनमा जान असमर्थ भएको बताएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले बताए। ‘चुनावको बेलामा जसोतसो मिलेर बस्नुपर्ने बसाई, अनुभव नै नभएको ठाउँमा जानुपर्ने, चुनावका सबै गतिविधिलाई आफ्नो नियन्त्रणमा राख्ने लगायतका कुरामा उहाँहरूले समस्या अनुभूति गर्नुभए जस्तो लाग्छ मलाई,’ उनले भने, ‘फेरि घरमा गर्नुपर्ने व्यवस्थापन, सन्तानको रेखदेख लगायतको भूमिकामा पनि महिला कर्मचारीहरूको भूमिका बढी हुने भएकाले घरको समस्याका कारण उहाँहरूले जान इच्छा देखाउनुभएन जस्तो लाग्छ।’

विगतका निर्वाचनमा महिलाको व्यवस्थापनमा मात्रै मतदान केन्द्र सञ्चालनको अभ्यास समेत गरिएको थियो। सदरमुकाम कुश्मामा रहने मतदान केन्द्र त्यो प्रयास गरिएको भए पनि महिला मात्रै रहनु भन्दा महिला र पुरुष कर्मचारीकै समायोजनमा केन्द्र राख्दा उपयुक्त हुने देखिएपछि महिला मात्रै राखेर मतदान केन्द्र नबनाइएको हो।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->