बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत : तीन मध्ये दुईमा गठबन्धन र एकमा एमालेका उम्मेदवारको लिड

पर्वत : तीन मध्ये दुईमा गठबन्धन र एकमा एमालेका उम्मेदवारको लिड


  • संजय रेग्मी
  • मंसिर ६ २०७९, मंगलबार

पर्वत/ प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई जना सांसद चुनिने पर्वतमा अहिलेसम्मको गणनामा प्रतिनिधि सभा सदस्य पदमा अर्जुनप्रसाद जोशीले लिड गरिरहेका छन् ।

सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली काँग्रेसबाट उम्मेदवार रहेका उनले नेकपा एमालेको उम्मेदवार पदम गिरीलाई ६९८ मतले पछाडि पारेका छन् । मतगणना सुरु भएदेखि नै लगातार लिड गर्दै आइरहेका जोशीले ८ हजार ४२ मत पाउँदा गिरीले ७ हजार ३४४ मत पाएका छन् ।

१२ जनाको प्रतिस्पर्धा रहेको प्रतिनिधि सभा सदस्य काँग्रेसका जोशी र एमालेका गिरीको प्रतिस्पर्धा नै सबैभन्दा रोचक छ। जोशी र गिरी दुवै जना ‘टेस्टेड’ अर्थात् यसअगाडि पनि निर्वाचित भएका नेता हुन् । जोशी २०५६, २०६४ र २०७० सालका चुनाव जितेका नेता हुन् भने गिरीले २०७४ को निर्वाचनमा जोशीलाई पराजित गरेका थिए ।

एक त प्रतिनिधिसभा, अर्को दुवै जना अनुभवी र त्यसपछि दुवै जना दुई मुख्य राजनीतिक दलका उम्मेदवार भएकाले जिल्लावासीको ध्यान यी दुई जनामा केन्द्रित भएको हो । २०७४ सालको निर्वाचनमा पनि यी दुवै नेता चुनावमा होमिएका थिए । त्यो बेलामा माओवादी र एमालेको गठबन्धन रहेको थियो । उक्त निर्वाचनमा गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए । गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए ।

त्यो बेलामा बाम गठबन्धनबाट १२ हजार मतको अन्तरमा गिरीले जोशीलाई पराजित गरे जस्तै यस पटक गठबन्धनकै बलमा प्रतिस्पर्धी एमालेका गिरीलाई त्यस्तै मतान्तरले पराजित गर्ने दाउमा जोशी छन् । एमालेका प्रतिस्पर्धी गिरी पनि अघिल्लो पटक जितेको आफ्नो साखलाई बचाउँदै फेरि पनि बाजी मार्ने दाउमा छन् ।

प्रदेशसभा सदस्यमा पनि गठबन्धन र एमालेकै उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा हुँदै छ । प्रदेशसभा ‘क’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुदीप कुँवर र नेकपा (एमाले) का भक्तबहादुर कुँवर प्रतिस्पर्धामा छन् । पछिल्लो विवरण अनुसार सुदिपले ७ हजार ८६४ मत पाउँदा भक्तले ७ हजार ५९१ मत पाएका छन् । उनीहरूबिच २७३ मतको अन्तर रहेको छ ।

प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट नेपाली काँग्रेसका ऋषिकेश तिवारी र एमालेबाट मित्रलाल बस्याल चुनावी मैदानमा छन् । यो क्षेत्रमा भने सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै एमालेका बस्यालले लिड गरिरहेको अवस्था छ । तिवारीले ५ हजार ६१३ मत प्राप्त गर्दा बस्यालले ७ हजार १०४ मत पाएका छन् । उनीहरूबिचको मतान्तर १ हजार ४९१ रहेको छ ।

जिल्लामा हालसम्म प्रतिनिधि सभातर्फ १७ हजार ४८, प्रदेश सभा ‘क’ मा १७ हजार १३९ र प्रदेश सभा ‘ख’ मा १४ हजार ५६३ मत गणना गरिएको छ । प्रतिनिधि सभामा ६०८, प्रदेश ‘क’ मा ४८८ र प्रदेश ‘ख’ मा ३३६ मत बदर भएका छन्। यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->