मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणना जारी छ । केही ठाउँको परिणाम आइसक्यो,धेरै ठाउँको आउन बाँकी छ । केही ठाउँको गणना नै भएको छैन । तर, गणनाले गति लिएको ठाउँमा परिणाम यही हुन्छ भन्ने अनुमान गर्न थालिएको छ ।
यो चुनावले केही नयाँ दलहरु जन्माएको छ । गएको असारमा अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीेले पुराना पार्टीहरुको अस्तित्वमाथि धावा बोलेको छ । पश्चिम तराइमा नागरिक उन्मुक्ति पार्टी अस्तित्वमा आएको छ भने सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि जनताले पत्याएका छन् । पुराना पार्टीका उम्मेदवारहरुले अग्रता त लिएका छन् तर ती दलका उम्मेदवारलाई नसोचेका र अहिलेसम्म नामसमेत नसुनिएकाहरुले कडा टक्कर दिइरहेका छन् । घण्टी चिन्ह लिएर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी यो मामिलामा सबैभन्दा अगाडि देखिएको छ ।
संचारकर्मी रवि लामिछाने नेतृत्वको यो पार्टीप्रति देखिएको जनताको रुझानले अन्य दलहरुलाई झस्काएको छ । पुराना दलहरुले आफ्ना एजेण्डा, आचरण र क्रियाकलापप्रति समीक्षा गर्नुपर्ने अवस्थामा पु¥याइदिएको छ । आफूलाई जनताको प्रतिनिधि ठान्ने पुराना दलहरुले अब पनि चेतेनन् भने उनीहरुको अस्तित्व नै धरापमा पर्नसक्ने सम्भावना जनताले मतदानमार्फत् औंल्याइदिएका छन् । नयाँ दलहरुले बोकेको राजनीतिक दर्शन प्रष्ट छैन । उनीहरुका गतिविधि अहिलेको संविधानले व्यवस्था गरे अनुरुप अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हो कि हैन भन्नेमा आशंका छ तर सुशासनको नारा दिएका ती दलहरुप्रति युवा जमातले विश्वास गरिदिएको छ ।
त्यो विश्वासलाई व्यवहारमा परिणत गर्नु चुनौतीपूर्ण छ । यो मामिलामा ती दल कत्तिको सफल हुन्छन् ? त्यसको लागि कुर्नैपर्ने छ । तर, यो पक्का हो कि, अब पुराना दलहरुको हालिमुहाली चल्नेवाला छैन । चुनाव भनेको जनमतको परीक्षण हो । जनताको सेवक बन्न चाहनेहरुका लागि जनअनुमोदित हुने व्यवस्था हो । नेपालको संविधानले दलहरुको अस्तित्व स्वीकारेको छ अनि समानुपातिक निर्वाचन प्रणालीमार्फत् उनीहरुको प्रतिनिधित्वको व्यवस्था गरेको छ । तर, त्यो सुविधाको पनि पुराना दलहरुले दुरुपयोग गरिदिए । समानुपातिक प्रणाली प्रत्यक्ष चुनाव लड्न नसक्ने वा आसेपासेहरुलाई सुरक्षित राख्ने हतियार बनाइदिए । दलहरु चुके र जनताले मतमार्फत् दण्डित गरिदिए । दलीय पद्दतिमा दलहरु बलियो हुनुपर्छ । तर, अहिले ठूला भनिएका दलको शीर्ष नेतृत्वले यो चुनावी परिणामलाई गम्भीरतापूर्वक लिएन भने व्यवस्था नै धरापमा नपर्ला भन्न सकिँदैन । यतातर्फ बेलैमा ध्यान जानु जरुरी छ । जनता जनार्दन हुन् र उनीहरुको आदेश पालना हुनैपर्छ । चुनावमार्फत् जनताले देखाएको रुझानले त्यही सन्देश दिएको हो ।
