राजनीतिक स्थिरता नेपालको आवश्यकता हो । स्थिरता स्थिर सरकारसँग जोडिने विषय हो । तर, २०७९ को मंसिर ४ मा सम्पन्न निर्वाचनमार्फत् व्यक्त जनादेशले कुनै पनि राजनीतिक दललाई स्थिर सरकार बनाउन पुग्ने बहुमत दिएनन् । यद्यपि, निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । समानुपातिको सिट बाँडफाट हुन बाँकी छ । दुई तिहाइ बहुमत माग्दै निर्वाचनमा होमिएको पाँच दलीय गठबन्धन तथा विभिन्न दलहरुसँग ‘तालमेल’गर्दै अगाडि बढेको एमालेलाई जनताले रुचाएनन् ।
बरु, राष्ट्रिय स्वतन्त्र पार्टीको सुशासनविरुद्धको अभियानसहित राजसंस्थासहितको हिन्दुराज्यको माग गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई जनताले मन पराए । जसले गर्दा २७५ सदस्यीय संघीय संसदमा उनीहरुको जबर्जस्त उपस्थिति रहने निश्चित भएको छ । ठूला तथा जनताको वास्तविक प्रतिनिधि भएको दाबी गर्ने पार्टीहरु खुम्चन पुगेपछि मुख्य राजनीतिक दलहरु झस्किएका छन् । उनीहरु चुनावी नतिजा र सरकार निर्माणको अंकगणितको लेखाजोखा गर्दैछन् । निश्चित हो, ५ दलीय गठबन्धनले स्थिर सरकारको नारा दिएको थियो ।
५ दलीय गठबन्धनलाई जनताले आंशिक अनुमोदन गर्दा एमाले र अन्य दलहरुलाई पनि जनताले उत्तिनै माया गरेका छन् । जनताले परिवर्तन चाहेका छन् । । स्थिरता र अस्थिरताभन्दा पनि यो पटक उनीहरुले नयाँ अनुहार र सुशासन अनि भ्रष्टाचार विरोधी अभियानलाई अनुमोदन गरेका छन् । जनादेशको यो सन्देशलाई ठूला दलहरुले मनन गर्नैपर्छ ।
तर,नयाँ शक्तिको उदयलाई ठूला दलका शीर्ष नेताहरुले अस्थिरता निम्त्याउने कार्यको रुपमा चित्रित गर्ने प्रयत्नको थालनी गरिसकेका छन् । जनअभिमतलाई यसरी दुत्कार्ने हैसियत र नैतिकता आफूसँग छ कि छैन भन्ने चाहिँ उनीहरुले बिर्सेका छन् । उदाहरणको लागि, हिजो स्थिरताको लागि नेकपालाई प्रदा गरिएको दुई तिहाइको किन सदुपयोग भएन भन्ने प्रश्नको उत्तर दिने हिम्मत नभएकाहरुबाट यस्तो लाञ्छना बाञ्छनीय हुँदैन । बरु, ठूला दलका नेताहरुले आत्मसमीक्षा गर्नुपर्छ । जनतालाई भेडा सम्झने प्रवृत्ति त्याग्नुपर्छ ।
यो चुनावको सन्देश त्यही नै हो । धाँधली भयो,अस्थिरताको बीउ रोपियो भन्नेजस्ता कुतर्क गरेर आफ्नो दुनो सोझ्याउने र जनमतको मानमर्दन गर्ने अधिकार कसैसँग छैन । हो, स्थिरता चाहिँ आवश्यक छ । निष्ठाको राजनीति गर्ने हो र देशलाई केन्द्रमा राख्ने हो भने अहिलेको जनादेशबाटै स्थिर सरकार निर्माण गर्न सकिन्छ । यसको लागि त्याग जरुरी छ । अर्कालाई दोष दिनुभन्दा आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ ।
