बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चुनावपछि पनि घरदैलो अभियानमा पर्वतका सांसद

चुनावपछि पनि घरदैलो अभियानमा पर्वतका सांसद


  • संजय रेग्मी
  • मंसिर १४ २०७९, बुधबार

पर्वत / चुनाव नहुने बेलासम्म जनताको घर आँगनमा पटक पटक देखा परिरहने उम्मेदवारहरू सामान्यतः चुनावपछि फर्किएर फेरि घरदैलो अभियानमा जाँदैनन् । तर पर्वतबाट प्रतिनिधि र प्रदेश सभामा निर्वाचित भएका सांसदहरू भने मतदातालाई धन्यवाद दिन पुनः घरदैलो अभियानमा जुटेका छन् ।

चुनावको बेलामा जनताको दैलोमा पुग्ने तर चुनावपछि जनतासँग नजोडिने भन्दै मतदाताले नेताहरूप्रति गुनासो पोखिरहेका हुन्छन् । चुनावअघि मतदानको अनुरोध गर्दै घरदैलो अभियानको जाँदा जनताले गाउँमा फर्किएर नआएको गुनासो नेताहरूलाई सुनाए । जनतामा रहेको यही निराशालाई मेट्न तथा आगामी पाँच वर्षमा आफूले उठाउनुपर्ने र पहल गर्नुपर्ने विषयका बारेमा जानकारी लिनका लागि उनीहरू गाउँ अभियानमा जुटेका हुन् ।

यस पटक पर्वतको निर्वाचन प्रतिस्पर्धात्मक थियो । मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) का उम्मेदवार र सत्तारुढ गठबन्धनबाट उठेका नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का बिचमा रहेको थियो। प्रतिनिधि सभातर्फको मतगणनाको सुरुवाती अवस्थामा काँग्रेसका अर्जुनप्रसाद जोशीले अग्रता लिए पनि अन्ततः परिणाम भने एमालेका उम्मेदवार पदम गिरीको पक्षमा पुग्यो । प्रदेश सभा ‘क’ मा माओवादीका सूदीप कुँवर एमालेका भक्तबहादुर कुँवरसँग पराजित हुँदा प्रदेश सभा ‘ख’ मा पनि एमालेकै मित्रलाल बस्याल निर्वाचित हुँदा काँग्रेसका ऋषिकेश तिवारीले हार खाए ।

प्रतिस्पर्धात्मक अवस्थाकाबिच नतिजा आफ्नो पक्षमा आएपछि निर्वाचित सांसदहरू जनतासँग खुसी छन् । यही कारण पनि उनीहरू नागरिकलाई धन्यवाद दिँदै उनीहरूका गुनासा र अपेक्षा सङ्कलनमा जुटिरहेका हुन् । ‘चुनावको बेलामा हतार हतार घरदैलोमा पुगेका थियौँ । कति ठाउँमा राम्रोसँग कुरा सुनिए होला कतिपय ठाउँमा जान नै समय मिलेन । चुनावको बेलामा जहाँ पुगेर जनताका कुरा सुनियो त्यहाँ भन्दा त्यति बेला जान नपाएका ठाउँमा पुगेर जनताका कुरा सुनौँ भनेर हो,’ प्रतिनिधि सभा सदस्य गिरी भन्छन्, ‘उहाँहरूको अपेक्षा, आसा, ठाउँ ठाउँमा रहेका समस्याहरूको बारेमा जानकार भए मात्रै संसदमा उहाँहरूको विषय उठाउन सकिने हो । जनताको भोगाइको बारेमा नै थाहा नभए के को बारेमा बोल्ने ?’

प्रतिनिधि सभामा दोस्रो पटक निर्वाचित गिरीले विजयी घोषणा भएको भोलिपल्ट नै आफ्नो गृह वडा कुश्मा नगरपालिका –४ दुर्लुङमा पुगेर मतदातालाई धन्यवाद दिने अभियानमा सुरु गरेका थिए । अभियानका क्रममा उनले आफूले निर्वाचनअघि गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि इमानदार भएर लाग्ने बताएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरी यति बेला धन्यावाद व्यक्त गर्नकै लागि जिल्लाको दक्षिणी क्षेत्रमा रहेका नेकपा (एमाले) पर्वतले बताएको छ । प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसदहरू पनि पायक परेको बेलामा प्रतिनिधि सभा सदस्य गिरीसँग र समय नमिलेको अवस्थामा एक्लै भए पनि मतदातासँगको भेटघाटमा पुगिरहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको पर्वतमा २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसले कुनै पनि सिट जित्न सकेन । त्यो बेलामा एमाले र माओवादीबिच रहेको बाम गठबन्धनका कारण एमाले र माओवादीका उम्मेदवारहरू विजयी बने । अहिलेको निर्वाचनमा काँग्रेस र माओवादी मिल्दा पनि एमालेकै उम्मेदवारहरू विजयी बने । १० वर्षसम्म काँग्रेसका सांसद निर्वाचित नभएको अवस्थामा एमाले पर्वत यही वातावरण कायम गर्न चाहन्छ । आगामी पाँच वर्षपछि हुने निर्वाचनमा पनि अहिलेकै नतिजा हात पार्नको लागि पनि एमालेको कसरत अहिलेबाट नै सुरु भएको छ ।

मत परिणाम आइसकेपछि पनि निर्वाचित सांसदहरूको घरदैलो अभियानले तत्कालका लागि मतदातालाई खुसी राख्ने मात्रै नभई आगामी निर्वाचनको लागि पनि वातावरण निर्माण गर्ने काम सुरु भएको एमालेका नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->