जिल्ला प्रशासन कार्यालय बागलुङबाट आइतबार किर्तेधारी पक्राउ परे । सरकारी पोशाक भिरेर सरकारी सहीछाप, कागजात, लेटरप्याड लगायत बोकेका गोरखाको लगन थापा गाउँपालिका–४ का आकाशचन्द्र परियार रंगेहात पक्राउ परे । सरकारी काम मिलाइदिने आश्वासनमा प्रशासन कार्यालय छिरेका किर्तेधारी पक्राउ त परे । के अब नेपालमा किर्तेधारी धन्दा सकिन्छ त ?
नेपाल सरकारका जुनसुकै निकायका अधिकांश कागजात किर्तेकारीले सजिलै किर्ते पार्न सक्छन् । जिल्ला प्रशासन जस्तो शक्तिशाली कार्यालयमा छिरेका किर्तेधारीले अन्य कार्यालयमा सहजै पहुँच बनाउन सक्छन् । कागजात र सहीछाप किर्ते गर्न सक्छन् ।
संसार डिजिटल युगमा प्रवेश गरिसकेको लामो समय भयो । विश्वका विकसित मुलुकले सरकारी सेवा डिजिटल बनाइसकेको छ । उनीहरुकहाँ सहीछाप र लेटरप्याड बोकेर हिड्नुपर्दैन । सेवा लिन जाँदा कागजातका ठुला र मोटा फाइल बोक्नुपर्दैन ।
हाम्रो देशमा भने अझै पनि फाइल डुल्छन् । एकै व्यक्तिले आप्mनो पहिचान देखाउन कयौं कागजात बोकेर हिड्नुपर्छ । नागरिक भएको प्रमाण देखाउन नगरिकता, मोटर चलाउने अनुमतिका लागि लाइसेन्स, भोट हाल्न जाँदा भोटर कार्ड जस्ता कागजात बोकेर हिड्नुपर्छ । जबकी, यी सबै परिचय डिजिटल माध्यमबाट एउटै कार्डमा देखाउन सक्छौं । अझ, सम्पत्तिदेखि अन्य परिचय पनि त्यही कार्डभित्र अटाउन सक्छौं ।
डिजिटल माध्यमबाट जाँदा बागलुङमा भएजस्तो किर्तेधन्दा पनि रोक्न सकिन्छ । सरकारी सेवा लिन जाने सेवाग्राही र सेवा प्रदायक अधिकारी स्पष्ट हुन सक्छन् । अनलाइनमार्फत हातहातमा सुविधा पु¥याउन सक्छ । सरकारी सेवा गुणस्तरीय, भरपर्दो र पारदर्शी बनाउन सकिन्छ । यस्तो सजिलो उपाय हुँदा हुँदै पनि नेपालमा अझै ढड्डा बोक्नुपर्ने अवस्था छ ।
सरकारका लेटरप्याड, सहिछाप जस्ता विषय कपी नै गर्न नसक्ने गरी डिजिटल हुँदो हो भने सजिलै किर्ते धन्दा रोकिन्थ्यो । भ्रष्टाचार, ढिलासुस्ती र ठगी धन्दा मेट्न सहयोग पुग्थ्यो । यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकार लाग्न ढिलो भइसकेको छ । ढड्गा युगको अन्त्य गर्दै डिजिटल युगमा जान अब हाम्रा जनप्रतिनिधी तात्नुपर्ने अवस्था छ ।
नेपालमा अहिले जताततै ठगी धन्दा मौलाएको छ । वैदेशीक रोजगारीका नाममा ठगी, जग्गा खरिद विक्रीका नाममा ठगी, सरकारी काम मिलाइदिने नाममा ठगी, अनुदानमा ठगी जस्ता विषय सामान्य भइसकेका छन् । यसभन्दा ठुलो ठगी राजनीतिक दलहरुले गरिरहेका छन् ।
चुनावका बेला ठुला ठुला सपना देखाएर जनतासँग मात माग्छन् । जनताले मत दिएर पठाउँछन् । सत्ताको बागडोर समाउँछन् । त्यसपछि जनतातिर फर्किदैनन् । भोट माग्दा दिएका आश्वासन विर्सनु पनि एउटा ठगी हो । उल्टै किर्तेधन्दामा लाग्नेदेखि राज्यको स्रोत दोहनमा ठगी गरिरहेकाहरुलाई संरक्षण दिन पुग्छन् । यस्ता ठगबाट समाज जोगाउन जरुरी छ ।
सरकार र सरकारी कार्यालयमा भइरहने किर्ते र ठगी धन्दा रोक्न सरकार र सुरक्षा निकाय नयाँ ढंगले अघि बढ्नुपर्छ । जहाँ व्यक्तिका स्वार्थभन्दा राज्य र समाजको हित एवं कानुनको परिपालना माथि रहन्छ ।
