बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुस्ताएको ताल संरक्षण अभियान

सुस्ताएको ताल संरक्षण अभियान


  • Dhorpatan News
  • मंसिर २३ २०७९, शुक्रबार

पोखरा महानगरले फेवासहित तालहरुको मापदण्ड घटायो । सर्वोच्चले नयाँ मापदण्ड लागू नगर्न आदेश दियो । आदेशपछि महानगर पछि हट्यो । महानगर पछि हटेसँगै फेवातालको वरपरको ६५ मिटर क्षेत्रभित्र भौतिक संरचना बनाउन लगाइएको बन्देज कायमै छ । तर, ताल संरक्षणको मुद्दा भने आझेलमा परेको छ । ताल मिचिएकोमा कुनै द्धिविधा छैन । मापदण्डका कारण जग्गाको लालपूर्जा भएकाहरुले दुःख पाएकोमा पनि विवाद छैन ।

तर, मापदण्ड आम नागरिकले मात्रै नभएर सरकार स्वयंले पनि मिचेको छ । अघिल्लो गण्डकी सरकारले ड्यामसाइडमा निर्माण गरेको झण्डा पार्क होस् कि पोखरा महानगरपालिकाको अतिथि गृह नै किन नहोस् ! सबै मापदण्डभित्रै रहेका छन् । तमासा कतिसम्म छ भने, मापदण्ड तोकेको पोखरा उपत्यका नगर विकास समितिकै अगुुवाइमा ताल किनारमा पैदल मार्ग बनाउँदा पनि नियम मिचिएको छ । लालपूर्जा लिएर बसेका व्यक्तिहरुले आफूले भोगचलन गरेको जग्गामा धमाधम पक्की संरचना बनाइरहेका छन् । एकातिर,फेवातालको क्षेत्रफलको विवाद,अर्कोतिर मापदण्ड पालना गराउनबाट नियमनकारी निकाय चुक्दा फेवाताल सधैँ गफ गर्ने विषय बन्न पुगेको छ ।

रामताल क्षेत्रमा सूचीकृत तालको बेहाल भएको छ । सर्वोच्च अदालतले संरक्षण र सिमाङ्कनको आदेश दिएपछि बाध्य भएर निर्माण गरिएको समितिले तालको सिमाङ्कनसहित क्षेत्रफलको किटान गरिदिएको छ । संघीय सरकारलाई बुझाइएको प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर (११ हजार २ सय ५५ रोपनी) रहेको किटान गरिएको छ । त्यसअघि २०६९ सालमा बनेको अर्को समितिले फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६ दशमलव ५४ वर्ग किलोमिटर) रहेको प्रतिवेदन बुझाए पनि वास्तविक क्षेत्रफल पछिल्लो नै रहेको सो समितिको ठहर छ । प्रतिवेदनमा मिचिएको तथा अधिग्रहण गर्र्र्नुपर्ने जग्गाको विवरण पनि समेटिएको छ । तर, त्यसले दिएका सुझाव कार्यान्वय हुन सकेको छैन ।

समग्रमा फेवाताल संरक्षणको मुद्दा गिजोलिएको र गुज्मुजिएको अवस्थामा छ । किनारका जग्गाधनीहरु कतिबेला के हुने हो भन्ने त्रासमा छन् । आफ्नो स्वामित्वको जग्गामा के गर्ने भन्ने उनीहरुमा अन्यौल छ । ती जग्गाधनीलाई राज्यले न मुआब्जा दिने सुरसार गरेको छ, न यसो गर भनेर निर्देशन नै दिन सकेको छ । बरु, बेलाबेला त्यहाँ पुगेर जग्गाधनीलाई तर्साउने काम भने सरकारी निकायहरुबाट हुँदै आएको छ ।

व्यक्तिले सम्पत्तिको उपभोग गर्न पाउने अधिकार संविधानले नै सुरक्षित गरेको सन्दर्भमा तिरो तिरेको आफ्नो जग्गा उपयोग गर्न पाउनुृपर्ने माग नाजायज हैन । व्यक्तिको जग्गा आफू अनुकूल प्रयोग गर्ने हो भने राज्यले मुआब्जा दिएर अधिग्रहण गर्नुपर्छ । बेलाबेला गएर धम्क्याउने वा बनेका संरचना भत्काएजस्तो गरेर समस्या समाधान हुँदैन । ताल संरक्षणको लागि स्पष्ट कार्ययोजना चाहिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->