पोखरा १३ मा नहरले बगाएर एक महिलाको निधन भएको छ । पोखरा १३, दुईकुलामा रहेको टास्क हाइड्रोपावरले एक्कासी नहर खोलिदिँदा ती महिलाको बगेर निधन भएको हो । महिला नहरबाट पानी निकाल्दै थिइन् । नहर खोलिएको जानकारी नपाउँदा घटना भएको स्थानीयले बताएका छन् ।
पछिल्लो समय सिंचाइको लागि निर्मित नहरहरु उपयोगविहीन बन्न पुगेका छन् । खेतीयोग्य जमिनमा क्रंक्रिकटका जंगल ठडिएपछि नहरको पानी उपयोगमा आउन छाडेको हो । नहरको पानी उपयोगमा आउन छाडेपछि त्यसमा हाइड्रोपावर कम्पनीहरुको आँखा पुग्यो । हाइड्रोहरुले नहरको पानीबाट बिजुली निकाल्न थाले । बगेर जाने पानीको उपयोग हुनु सकारात्मक कदम हो । इन्धनको परनिर्भरता हटाउन तथा बढ्दो उर्जाको माग संवोधन गर्न पानीको उपयोग गर्नैपर्छ । तर, उपयोगका केही नियमहरु हुन्छन् । सर्वसाधारणसलाई बाधा पार्ने वा हानी गर्ने गरी नहरको उपयोग गरिनु हुँदैन ।
जनप्रतिनिधिबाटै हाइड्रो कम्पनीहरुले स्थानीयहरुको गुनासा नसुनेको आरोप आएको छ । वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालका अनुसार हाइड्रोका कारण जनताले सास्ती खेप्नुपरेको बताएका छन् । जनप्रतिनिधिको आवाजको सुनुवाइ हुनुपर्छ । पानी उपयोग गर्दा त्यसले स्थानीयलाई दुःख दिन पाइँदैन । मान्छे नै बगाउने गरी पानी छाड्ने,स्थानीयको आवाज नसुन्ने प्रवृत्तिले हाइड्रो संचालकको भलो गर्दैन । कानूनभन्दा माथि कोही रहँदैन ।
अर्कोतर्फ, पछिल्लो समय नहर मास्ने, नहरको लागि छुट्याइएको जग्गा अतिक्रमण गर्ने क्रम बढेर गएको छ । सहरको मुख्य भाग हुँदै जाने नहरहरु फोहर फाल्ने प्रयोजनमा बढी प्रयोग हुनु दुःखद छ । हिजो करोडौं लगानीमा निर्मित नहरको समुचित उपयोग गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ । समयमै भू– उपयोग नीति बनाइएको भए, उर्वर र खेतीयोग्य जमिनमा क्रंक्रिटको जंगल ठड्याउन नदिइएको भए,नहरले सुन फलाउन सहयोग गर्थे । खाद्यान्न उत्पादनले परनिर्भरता घट्थ्यो । तर, बिडम्बना त्यसो गरिएन । पोखरामा नहर त छ तर पानी लगाउने जग्गा बाँकी छैन । यो दुर्भाग्यपूर्ण अवस्था आउनुमा नीति निर्माता नै दोषी छन् । सिंचाइमा पानी प्रयोग नहुँदा त्यसले कटानलगायतका समस्या सिर्जना गरेको छ । त्यसमा सरोकारवालाहरुको ध्यान जानुपर्छ । नहरको पानीलाई व्यवस्थित गरिनुपर्छ ।
