बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गैंडा जोगाऊँ

गैंडा जोगाऊँ


  • Dhorpatan News
  • पुष ३ २०७९, आइतबार

नवलपुरमा तीन दिनभित्रमा दुईवटा गैंडा मृत फेला परेका छन् ।चितवन राष्ट्रिय निकुञ्जको कुजौली रेञ्जपोस्टअन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले तथा अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैंडा मृत फेला परेको हो । पोथी गैंडा खुर–खाग सुरक्षित पाइएको छ भने भालेको खाग पलाएकै थिएन ।

यसरी हेर्दा दुवै गैंडाको मृत्यु चोरी शिकारीबाट नभएको आँकलन गरिएको छ । गैंडा प्रकृतिको अनुपम र दुर्लभ उपहार हो । एकसिंगै गैंडा संसारबाटै विलुप्त हुने हो कि भन्ने त्रास बढ्दै गएको छ । खागदेखि शरीरका विभिन्न अंगहरुमा मानिसको आँखा पर्दा यो सुन्दर प्राणीको अस्तित्व संकटमा परेको हो ।

गैैंडाको अप्राकृतिक मृत्यु रोक्न नेपाल सरकारले संरक्षण अभियान चलाएको छ । गैंडाका विभिन्न अंगहरु ओसार–पसारमा प्रतिबन्ध लगाइएको छ । मार्ने तथा खागसहितका अंगको अवैध कारोबार गर्नेहरुलाई कडा सजाय तोकिएको छ । तर, गैंडा मार्ने अपराध रोकिएको छैन । गैंडा स्वयंलाई उसको खाग काम लाग्दैन तर पितृ उद्धारको नाममा त्यही खागबाट तर्पण दिनेहरु,औषधिमा प्रयोग गर्ने तथा सजावटका सामग्री बनाउने नाममा गैंडाहरु मारिँदै आएको छ । चोरी शिकारीसँगै प्राकृतिक कारण वा मानिसले थापेका पाँसोमा परेर पनि गैंडा मर्दै आएका छन् ।

अघिल्लो वर्ष गरिएको गणना अनुसार नेपालमा एकसिंगे गैंडाको संख्या ७५२ पुगेको थियो । २०१५ मा ६४५ वटा गैंडा रहेको र पछिल्लो समय संख्या बढेकोमा नेपालले अन्तर्राष्ट्रिय रुपले नै प्रशंसा पाएको थियो । तर, त्यो खुसी धेरै टिकेन । शिकारीहरुले २ वटा गैंडा मारिदिए । महिनामा एउटाका दरले गैंडाले ज्यान गुमाउँदै गए । यो क्रम रोकिएको छैन । हरेक ४ वर्षमा गैंडा गणना गरिन्छ । अहिले गैंडाको संख्या कति छ भन्ने ठ्याक्कै भन्न सकिँदैन ।

प्राकृतिक कारणले नै गैंडाले ज्यान गुमाउने गरेको देखिए पनि मानवीय धरापका कारण गैंडा मारिने क्रम बढेर गएको छ । जसले संकटापन्न गैंडा अझ संकटमा परेका छन् । करेण्ट लागेर, खाडलमा परेर, विषादीयुक्त घाँस खाएर,बाघको आक्रमण,नदी वा वनमा बनाइएको खाडलमा परेर,दलदलमा भासिएर गैंडा मर्ने गरेका छन् । गैंडा बचाउने हो भने यस्ता गतिविधिहरुमा रोक लगाइनुपर्छ । चोरी शिकारी नियन्त्रणसँगै गैंडामाथि आइपर्ने मानव सिर्जित विपत्ति रोक्न सकेमात्र यो सुन्दर प्राणीको संरक्षण गर्न सकिन्छ । सरकार र संरक्षणमा क्रियाशिल संघ÷संस्थाले यो तथ्यलाई मनन गर्नैपर्छ । ४० वर्ष बाँच्ने गैंडा अप्राकृतिक कारणले मृत्युको मुखमा पर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->