बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विश्वकप फुटबल : तालीमात्र बजाउने नियतिबाट निक्लौं

विश्वकप फुटबल : तालीमात्र बजाउने नियतिबाट निक्लौं


  • Dhorpatan News
  • पुष ५ २०७९, मंगलबार

कप्तान लियोनेल मेस्सी अभिप्रेरित अर्जेण्टिना सन् २०२२ को विश्व च्याम्पियन बनेसँगै फुटबलको महाकुम्भ सकिएको छ । फाइनलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेसँगै अजेण्टिनाले ३६ वर्षपछि उपाधि हात पारेको हो ।

सर्वाधिक लोकप्रिय खेलको विश्वस्तरीय प्रतियोगिताको यो संस्करणमा अनेकौं रेकर्डहरु बने । तीमध्ये सबैभन्दा महत्वपूर्ण रेकर्ड अजेण्टिनी कप्तान मेस्सीले नै लेखाए । त्यसबाहेक उपविजेता फ्रान्सका स्ट्राइकर किलियन एम्बाम्पे,पहिलो पटक सेमीफाइनल पुगेको अफ्रिकी टोली मोरक्कोले विश्वभरका दर्शकमाझ अविश्वरणीय छाप छाडे । प्रतियोगी ३२ राष्ट्रकै लागि विश्वकप यात्रा अभूतपूर्व थियो । कतारको मैदानमा उत्रँदा उनीहरुले राष्ट्रिय स्वाभिमान बढाउन सक्दो प्रयत्न गरेका थिए ।

विश्वकप फुटबल खेलमात्र हैन । यो प्रतियोगितासँग राष्ट्र र व्यक्तिको प्रतिष्ठा पनि गाँसिएको हुन्छ । विश्वकप आयोजनाको अनुमति फुत्काएपछि अरब क्षेत्रमा कतारले कद बढायो । फुटबलको सर्वोच्च निकाय फिफाबाट अनुमति कसरी फुत्कायो भन्ने फरक विषय रह्यो तर उसले तोकिएको समयमा आवश्यक सबै तयारी भ्यायो । भला,नेपालीसहित विभिन्न देशका मजदुरमाथि गरिएको ज्यादतिका कारण ऊ आलोचित नै किन नहोस् ! देशको सामथ्र्य र शक्ति प्रदर्शन गर्ने माध्यम फुटबल हो भन्नेमा द्धिविधा नै छैन । त्यसैले यसमा सामेल हुन र आफूलाई अब्बल प्रमाणित गर्न राष्ट्रहरुले कुनै कसर बाँकी राखेनन् ।

सहभागी राष्ट्रहरुबीच मैदानमा हुने प्रतिस्पर्धाले सिंगो विश्व अर्थतन्त्र प्रभावित बन्यो । नेपाल त्यसबाट अछुतो रहने कुरै भएन । फुटबल अन्यत्रझैं नेपालमा पनि लोकप्रियमध्येको एक खेल हो । नेपाली दर्शकहरु टेलिभिजनको पर्दामा झुण्डिए । मन पर्ने देश वा खेलाडीको विजय कामना गरे । देशका मै हुँ भन्ने नेताहरुले पनि विभिन्न देश र खेलाडीको पक्षधरता जनाए । फाइनलसम्मै फुटबलको रौनकबाट नेपाल अछुतो रहेन । कतिसम्म भने पोखरामा महानगरको संयोजनमा सडकबाटै ठूलो पर्दामा फुटबल हेर्ने व्यवस्था मिलाइयो । त्यो सानो कर्मले यहाँका मेयरले वाहवाही बटुले ।

तर, फुटबलको यो महासंग्रामताका पनि नेपाली खेल क्षेत्रको सुधारबारे नेताहरुले चुइँक्क बोलेनन् । नेपालले विश्वकप छनोटमा भाग लिँदै आएको छ । तर, प्रदर्शन निराशाजनक र लज्जास्पद छ । कारण, खेलकुद क्षेत्रमा राज्यको लगानी शुन्य बराबर छ । विश्वस्तरका खेलाडी जन्माउन, मैदानमार्फत् देशको सामथ्र्य प्रस्तुत गर्न खेलकुदले लगानी खोज्छ । नेपालमा ठीक उल्टो छ । राजनीतिको कुरुप छायाँले खेल संस्थाहरु भताभुङ्ग भएका छन् । प्रशिक्षणको अभाव त छँदैछ, भएका प्रतिभालाई पनि राज्यले संरक्षण गर्न सकेको छैन । खेलकुद क्षेत्र उपेक्षित हुँदा कुनै पनि अभिभावक आफ्ना सन्ततिलाई खेलाडी बनाउन चाहँदैनन् ।

यहाँ विश्वस्तरका खेलाडी जन्माउनु चुनौतीपूर्ण देखिएको छ । त्यसैले सम्भावना देखिएका क्रिकेट र ट्रयाक एण्ड फिल्ड अनि तेक्वाण्डोजस्ता खेलहरुको स्तर पनि बिस्तारै खस्कँदै गएको छ । नागरिकहरुलाई अमूक देशको समर्थक बन्न विवश बनाइनुको दोष राज्यले लिनुपर्छ । खेलकुदका विभिन्न प्रतियोगिताहरुमा सिंगो राष्ट्र तरंगित भइरहँदा राज्यले आफ्नो कर्तव्य र कमजोरी केलाउनु जरुरी छ । अहिले खेलकुदमा चम्किएका राष्ट्रहरुको सफलताको सूत्र के हो पहिल्याउने,खेलकुद क्षेत्रमा लगानी बढाउने र खेलको माध्यमबाट प्रतिष्ठा एवं धन आर्जन गर्नको लागि योजनावद्ध कार्यक्रम ल्याउनुपर्ने देखिएको छ ।

आफ्ना खेलाडीको समर्थनमा खेल हेर्न र पराजयपछि खेलाडीको मनोवल उच्च बनाउन मैदान अनि डे«सिङ रुम छिरेका फ्रान्सका राष्ट्रपतिबाट सिकेमा मात्र पनि धेरै कुरा सम्भव छ ।अन्यथा,अर्काको समर्थनमा ताली बजाउने नियतिबाट देश गुज्रिरहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->