देशको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । पाँचपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति देउवाले महामन्त्री गगन थापालाई ३९ मतान्तरले पाखा लगाउँदै पुनः प्रधानमन्त्री हुने बाटो खोलेका ह्ुन् ।
८९ सिट रहेको कांग्रेस संसदीय दलमा देउवाले ६४ र थापाले २५ मत पाए । २०५७ सालदेखि दलको नेता छान्न निर्वाचन विधि रोजेको कांग्रेसमा यसपटक देउवा नै चुनिने निश्चितजस्तै थियो । चुनावमा टिकट वितरणदेखि समानुपातिकको सूची तयार पार्दा नै देउवा बलिया थिए । तर, महामन्त्रीले मैदानमा उत्रने आँट गरे । उनलाई लोकप्रिय युवा नेताहरुले साथ दिए । त्यसले बुढा नेताहरुको हालीमुहाली रहेको नेपाली राजनीति तरंगित बनायो । पुस्तान्तरणको नारालाई पुनः सतहमा ल्याइदियो । गगनले चुनावमा पराजय ब्यहोरेका छन् तर उनले नेपाली राजनीतिमा युवाहरु हस्तक्षेपकारी भूमिकाको लागि तयार छन् है भन्ने सन्देश प्रवाह गरेका छन् । यसरी हेर्दा गगन सफल भएका छन् ।अंकगणित फरक विषय हो ।
एमाले, माओवादीसहित अन्य दलमा निर्विरोध संसदीय दलको नेता चयन भइरहँदा गगनले जे निर्णय गरे त्यसले उनको कद बढाएको छ । विपक्षीहरुले पनि उनको हिम्मतको सह्राना गरेका छन् । पुराना प्ुस्ताका नेताहरु अब निर्विकल्प हुन सक्दैनन् भन्ने सन्देश प्रवाह गरेका गगन स्वयंमाथि पनि यो निर्णयले जिम्मेवारी बढाएको छ । हाल प्राप्त शाख जोगाउँदै चुनौतीपूर्ण यात्रामा अगाडि बढ्नुपर्ने दायित्वले उनी थिचिएका छन् ।
२०७९ साल मंसिर ४ गते सम्पन्न प्रदेश र संघीय निर्वाचनले नयाँ सन्देश प्रवाह गरेको छ । भर्खरै अस्तित्वमा आएका पार्टीहरुले पुरानालाई चुनौती दिएका छन् । युवा र युवाले नै नेतृत्व गरेको पार्टीहरुले संसदमा महत्वपूर्ण उपस्थिति जनाएका छन् । आम मतदाताहरुको रुझान युवातर्फ देखिएको छ । भला, उमेरले कोही युवा र बृद्ध हुने हैन । तर,कम उमेरकाहरुसँग जनताले बढी अपेक्षा गरेका छन् । राजनीतिक नेतृत्वले निर्वाचनमार्फत् अभिव्यक्त यो जनादेशलाई बेलैमा बुझ्नुपर्छ ।
पुरानो प्ुस्ताले डोहो¥याएको पार्टीमा नयाँ पालुवा पलाउन दिइएन भने त्यसको परिणाम महँगो पर्नसक्छ । र,युवा भनिएको पुस्ताले अवसर खोजिरहँदा आफूलाई प्रमाणित गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । स्वार्थको वशमा परेर प्ुरानै पुस्ताको दौराको फेरो समात्ने र लाभको पद लिने मनोवृत्तिबाट उनीहरु बाहिर निस्कनै पर्छ । र, त्यो हिम्मत गगनले देखाएका छन् । गगनले लिएको बाटो चुनौतीपूर्ण छ तर राजनीतिमा चुनौती मोल्नेहरु नै सफल हुने हु्न् । गगनको कदमले नेपाली राजनीतिमा प्ुस्तान्तरणको मुद्दा पुनः सतहमा आएको छ र आउँदा दिनहरुमा पाका नेताहरुको लागि चुनौती थपिएको छ । सधैँ पदमा बस्न खोजियो भने परिणति फरक हुनसक्छ भन्ने हेक्का राख्नुपर्ने देखिएको छ ।
