बितेको एक वर्षभित्र बागलुङमा २२ जना बालिका बलात्कृत भए । बालिका बलात्कार आफैमा जघन्य अपराध हो । यो अपराधको जति निन्दा गरे पनि थोरै हुन्छ । तर, बलात्कारको यो तथ्याङ्क बाहिर आउँदा अर्को डरलाग्दो तथ्य पनि प्रकाशमा आयो । बलात्कारमा घटनामध्ये १९ वटामा ५ देखि १५ वर्षसम्मका बालकहरु सहभागी भएको पाइयो । कतिसम्म भने १४ वर्षीय बालक त एकैदिन दुईवटा बलात्कारको घटना घटाएको प्ुष्टि भयो ।
पछिल्लो समयमा बलात्कारजस्तो जघन्य अपराधमा कलिला बालकहरुको संलग्नता बढ्दै गएको छ । पोखरामा रहेको बाल सुधार गृहमा रहेकामध्ये अधिकांश बलात्कारका दोषी हुनु यसको गतिलो प्रमाण हो । नेपालको ८ वटा बाल सुधारगृहमा १ हजारभन्दा बढी बालबालिका रहेका छन् । तीमध्ये ४४२ जना बलात्कारकै कसुरमा त्यहाँ पु¥याइएका हुन् । मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधको लागि सजाययोग्य मान्दैन । ११–१४ वर्ष उमेर समूहका बालबालिकालाई बढीमा ६ महिना सुधार गृहमा राख्न अदालती आदेश हुन सक्छ । १५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई भने वयश्कसरह कानुन लाग्ने व्यवस्था छ ।
अभिभावकको पर्याप्त माया नपाउनु, लापरबाहीपूर्ण क्रियाकलाप र सामाजिक सञ्जाल (इन्टरनेट)को दुरुपयोगजस्ता कारणले पछिल्लो समय बालकहरु हिंश्रक हुँदै गएका छन् । बालबालिकाहरुले उचित वातावरण नपाउँदा उनीहरु कुलतमा फस्ने र आपराधिक गतिविधिमा लाग्ने गरेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । नेपालमा पछिल्लो समय बालबालिकामा बढ्दै गएको इन्टरनेटको लत तथा पारिवारिक बेमेलका कारण परेको दवावले पनि बालबालिकाहरु अछुतो रहेका छैनन् । बालबालिकाले जे देख्छन्, त्यही सिक्छन् । अभिभावकले उनीहरुलाई असल कुरा सिकाउनुपर्छ । यसका अलावा उमेर बढ्दै गएपछि बालबालिकाहरुमा यौनप्रति जिज्ञासा बढ्छ । यौन बर्जित विषय हैन र यसबारे बालबालिकाहरुलाई जानकारी दिनुपर्छ । असल के हो र खराब के हो भन्ने बुझाउन सक्नुपर्छ । अपराध गरे के हुन्छ भन्ने पनि बुझाउनैपर्छ । समाज हिंश्रक बनेको सत्य हो तर यसको कारण खोजिनैपर्छ ।
