बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्थिरता कायम होस्

स्थिरता कायम होस्


  • Dhorpatan News
  • पुष ११ २०७९, सोमबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको प्रधानमन्त्री बनेका छन् । ६ वटा दलका १६६ जना सांसदको समर्थनमा प्रचण्ड तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बनेका हुन् ।

उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, जनमत पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका पार्टीले समर्थन गरेका छन् । राष्ट्रपतिले सरकार गठनको लागि दिएको समयसीमा सकिनैलाग्दा प्रचण्डले पुरानो ५ दलीय गठबन्धन एमालेको सहयोगमा सिंहदरबार यात्रा तय गरे । गएको स्थानीय र मंसिर ४ गते सम्पन्न चुनावमा नेपाली कांग्रेससहितका दलहरुसँग गठबन्धन निर्माण गरेका प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्न तयार थिए । तर,पहिलो पालो आफ्नो हुनुपर्ने उनको माग थियो । नेपाली कांग्रेसका सभापति

शेरबहादुर देउवा त्यसको लागि तयार भएनन् । मौखिक रुपले प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री दिएका उनले वचन पूरा गरेनन् । जसका कारण गठबन्धन नै टुट्नपुग्यो । गठबन्धन टुट्दा सबैभन्दा ठूलो क्षति कांग्रेसले नै ब्यहोरेको छ । उसले केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने हैसियत गुमाएको छ । लाभका पदहरुबाट विमुख भएको छ । दोस्रो कार्यकालको लागि पार्टी सभापति बनेका देउवामाथि उत्तरार्धमा पार्टी चकनाचुर पारेको र व्यक्तिवादी चरित्र देखाएको आरोप लाग्न पुगेको छ । सरकार गठनको पहल गरेर एमाले अध्यक्ष केपी ओली पुनः राजनीतिको केन्द्रमा आएका छन् । उनले गठबन्धनमात्र भत्काएका छैनन्, २ वर्षपछि प्रधानमन्त्री बन्ने सुनिश्चिता पनि गराएका छन् ।

लाभ–हानीको समीक्षा होला नै । तर, पछिल्लो निर्वाचनमार्फत् जनताले दिएको म्याण्डेट भनेको सहमतिको सरकार नै थियो । ५ दलीय गठबन्धन नटुटेको भए, त्यसकै सरकार बन्थ्यो । टुटेपछि दृष्य बदलिएको छ । देशका ठूला वामपन्थी शक्तिहरु एउटै कित्तामा उभिएका छन् । वामपन्थीहरु एक ठाउँमा उभिँदा स्थिरता कायम हुने अपेक्षा गर्न सकिन्छ । भला, प्रचण्डलाई फरक विचार भएका दलहरुको समर्थन छ र अलिकति तलमाथि हुनासाथ अस्थिरता उत्पन्न हुने खतरा बाँकी नै छ । यस्तोमा प्रधानमन्त्री प्रचण्डले सुझबुझ देखाउनु जरुरी छ । प्रचण्डका अघिल्ला २ कार्यकाल स्मरणीय रहेनन् । पहिलो कार्यकालमा उनी आफ्नै उत्तेजनाको शिकार बने ।

दोस्रो कार्यकालमा पनि उनले सोचेजस्तो काम गर्न सकेनन् । अहिले उनीसँग अवसर र चुनौती दुवै छ । गठबन्धनलाई विश्वासमा राखेर देश र जनताको हितमा काम गर्ने यो अवसरलाई उनले खेर फाल्नु हुँदैन । तेस्रो कार्यकालको सफलतासँग स्वयं र पार्टीको भविष्य जोडिएको भुल्नु हुँदैन । स्थिरता र सुशासन चाहेका जनतालाई निराश पारिनु हुँदैन । प्रचण्डलाई शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->