नेपाल साहित्य सम्मेलनको १० औं संस्करणको मैझारो भएको छ । पुस ६ मा संगीतसहित सुरु भएको महोत्सव पुस ११ मा संगीतमय माहौलमै समापन भएको छ । यो बीचमा काठमाडौं विश्वविद्यालयका रजिष्टार अच्यूत वाग्लेदेखि बुकर पुरस्कार विजेता साहित्यकारहरु, राजनीतिज्ञ,कवि–कलाकार,पत्रकार तथा अर्थशास्त्रका ज्ञाताहरुसम्मले महोत्सवमा सहभागिता जनाए ।
स्वदेश र विदेशका गरी ३ सयभन्दा बढी प्रबुद्ध व्यक्तिहरुको जमघट गराएर आयोजक बुकवर्म फाउण्डेसनले बैदामे ताल किनारलाई गुलजार बनायो । विभिन्न विधामा गरिएका गहन बहसले नयाँ विचारको जन्म गरायो, हजारौंलाई नयाँ बाटोमा लाग्न प्रेरणा दिलायो । सानो प्रयास र तयारीमा यो सब सम्भव थिएन । तर, ठूलो टिम र उत्तिकै मिहिनेतका कारण आयोजक लक्ष्यमा खरो उत्रिए । हो, ठूलो यज्ञ गर्दा केही कमजोरी हुन्छन् नै ! तर, ती कमजोरी नियतबस थिएनन्, मानवीय कमजोरीका कारण घटित् भएका थिए ।
नेपालमा विभिन्न नाममा विभिन्न ठाउँमा मेला र महोत्सव आयोजना हुँदै आएका छन् । ती सबै महोत्सवका निश्चित उदेश्य हुन्छन् । आयोजकले जे दाबी गरे पनि पछिल्लो समय लाभलाई केन्द्रमा राखेर महोत्सवहरु आयोजना हुँदै आएका छन् । साहित्य महोत्सव त्यसमा पृथक देखियो । शब्दहरुको खेती गरिएको यो महोत्सवका आयोजकहरुसँग पनि स्वार्थ पक्कै थियो होला तर त्यो विषय गौण बनेको छ ।
आयोजकहरुले साहित्यको ठूलो कुम्भमेलामार्फत् सकारात्मक सन्देश प्रवाह गरेर पोखरालाई ठूलो गुन लगाएका छन् । कला,साहित्य र संगीतको सहर पोखरालाई गतिशील बनाउने उनीहरुको कृत्य आफैंमा सह्रानीय छ । काम गर्न गाह्रो छ । यति ठूलो महोत्सव आयोजना गर्न सजिलो हुँदैन । आयोजकको यो प्रयासमा सबैले सहयोग गर्नुपर्छ । अर्को वर्षको निरन्तरताको लागि अहिलेदेखि तयारी थालिनुपर्छ । सत्प्रयासको प्रशंसा गरिनैपर्छ ।
