गण्डकी प्रदेशसभाले नयाँ सदस्य पाएको छ । जनताका प्रतिनिधिका रुपमा प्रदेशसभामा पुगेका सदस्यहरु अबको पाँच बर्षका लागि कस्तो प्रदेश बनाउने, प्रदेशलाई कसरी चलाउने भन्ने बिषयका निर्णायक हुन् । आगामी पाँच वर्षको लागि जनताका प्रतिनिधि बनेर निर्वाचित भएका प्रदेशसभा सदस्यहरुको कार्यकाल सपथ ग्रहणसँगै सुरु भैसकेको छ । प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक गर्ने मात्रै होईन् समितिका बैठक, सभामुख, उपसभामुख निर्वाचन, राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका प्रक्रियामा भाग लिने अधिकार राख्छन् । निर्णायक मत दिने प्रतिनिधिसमेत उनीहरु नै भएकाले जनताको मतको भार बोकेर उनीहरुको मतले महत्वपूर्ण पदहरुमा उपयुक्त व्यक्तिको छनोट गर्नेछ । जनजीविकाका सवालहरु प्रदेशसभामार्फत प्रदेश सरकार समक्ष पुर्याउने र सरकारका काम कारवाहीहरु जनउपयोगी बनाउन सुझाउने काम पनि प्रदेशसभा सदस्यहरु कै हो ।
प्रदेशसभा सदस्यहरुको भूमिका नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका, भाग १४ मा प्रदेश व्यवस्थापिका, भाग १५ मा प्रदेश व्यवस्थापन कार्यविधि र भाग १६ मा आर्थिक कार्यप्रणाली सम्बन्धी व्यवस्थामा उल्लेख भएअनुसार हुन्छ । मुख्य कामको रुपमा प्रदेशसभाले बिभिन्न २२ प्रकृतिका कानूनहरु निर्माण गर्ने अधिकार राख्छ । निर्वाचन सम्पन्न भएको लामो समय बितिसकेको छ । निर्वाचित प्रतिनिधिहरुले सपथ लिएकाले उनीहरु प्रदेशसभाका लागि योग्य भैसकेको अवस्था छ । यस्तो अवस्थामा प्रदेशसभामा प्रत्यक्ष र समानुपातीक रुपमा निर्वाचित भएका प्रतिनिधिहरुको ध्यान प्रदेशका जनतालाई उपयोगी हुनेगरी कानूनहरुको निर्माण, सरकारका काम कारवाहीबाट जनतामा पर्ने सकारात्मक र नकारात्मक प्रभाव दुवैको अध्ययन र भावी एजेण्डा हुन जरुरी छ । तर, निर्वाचित सदस्यहरु गर्नैपर्ने आफ्नो कामको बिषयको अध्ययनभन्दा फरक तरिकाका काम कारवाहीमा तल्लिन हुन थालिसकेका छन् । प्रदेशसभामा एकाधबाहेक नयाँ सदस्य पुगेका छन् । प्रदेशसभा सदस्यको भूमिका, त्यहाँका प्रक्रिया, जनजीविका र यसअघिको कार्यकालमा प्रदेशसभाले गरेका काम कारवाहीको प्रभावकारीताका बिषयमा अध्ययन गर्नु अपरिहार्य छ ।
जनताका प्रतिनिधिको अधिकतम सहभागिता रहने प्रदेशसभा जनताकै प्रतिनिधिको सभाजस्तो हुनु आवश्यक छ । सपथलगत्तै प्रदेशसभाका सदस्यहरुको रवैयाले प्रदेसभा पद र प्रतिष्ठाका लागि पुग्नेहरुको हुल मात्रै हने दृष्य देखापरेको छ । सपथको एक दिन नबित्दै औपचारीक कार्यक्रमहरुको अतिथी बन्ने, आफु अनुकुलका भाषण गर्ने, जिम्मेबारीभन्दा पर पुगेर पद र प्रतिष्ठाको रवैया प्रस्तुत गर्ने गतिबिधि बढ्नु दुभाग्र्यपूर्ण हो । त्यसैले प्रदेशसभाका सदस्यहरुले आफुलाई प्राप्त भएको जनादेशको सम्मान, समृद्ध प्रदेश तयार गर्न आवश्यक कानून र बिधिहरुको निर्माण, जनताको प्यारो हुने खालको सरकार गठन र जनउपयोगी काम कारवाहीमा ध्यान दिन जरुरी छ । समयको बेग रोकिँदैन् । समयमा नै प्रदेशसभालाई उपयोगी बनाउने जिम्मेबारीमा प्रदेसभा सदस्यहरु नचुकुन् ।
