बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एयरपोर्टको दीगो संचालनमा अर्जुनदृष्टि लगाऊ

एयरपोर्टको दीगो संचालनमा अर्जुनदृष्टि लगाऊ


  • Dhorpatan News
  • पुष १८ २०७९, सोमबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन भएसँगै पुरानो विमानस्थलबाट संचालित आन्तरिक उडानहरु नयाँमा सरेका छन् । अन्तर्राष्ट्रिय उडानको टुंगो नलागे पनि गण्डकीबासीहरुले यो विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान भएको देख्न चाहेका छन् । विमानस्थल समुद्घाटनको क्षणमा भेला भएका हजारौं नागरिकहरुको यो चाहनामाथि तुषारापात गरिनुहुँदैन र निकट भविष्यमै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुनुपर्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सपना अहिलेको हैन । २०३२ सालमा विमानस्थलको लागि जग्गा अधिग्रहण गरियो । निर्माण थाल्न झण्डै ४२ वर्ष कुनुुप¥यो । निर्माण सम्पन्न हुँदासम्मको समय मापन गर्ने हो भने, आधा शताब्दी व्यथित भएको छ । आधा शताब्दीसम्म पनि एउटा परियोजनाले मूर्तरुप नपाउने बिडम्बनाबाट हामीले भर्खरै पार पाएका छौँ । पोखरा विमानस्थल एउटा उदाहरण हो, जसले नेपालको निर्माण क्षमता र विकासको गति मापन गर्न सघाउँछ । हिजो खाली भएको कुँडहर फाँट अहिले भरिभराउ बनेको छ । एयरपोर्ट सपना देख्दा अवस्था त्यस्तो थिएन ।

बस्तीबाहिरको क्षेत्रमा बन्ने एयरपोर्टले बस्ती विकासमा समेत सघाउने अपेक्षा गरिएको थियो । पर्यटन प्रवद्र्धन अनि आर्थिक समृद्धिका सपनाहरु विमानस्थलसँग जोडिएका थिए । तर, ढिला गरियो । पोखरेली र तत्कालीन पश्चिमाञ्चलबासीले आन्दोलन गर्नुपर्ने अवस्था आइलाग्यो । विभिन्न जालझेलपूर्ण कृत्यहरुका बीच बल्लतल्ल विमानस्थलको शिलान्यास र सम्पन्न भएको छ । अब यसको दीगो संचालनतर्फ सवैको ध्यान केन्द्रीत गर्नुपर्ने देखिएको छ ।

विमानस्थल चिनियाँ ऋणमा सम्भव भएको हो । संचालनसँगै ब्याजको मिटर घुम्न थालेको छ । यही विमानस्थलको कमाइबाट छिमेकीलाई ब्याज तिर्ने हो । विमानस्थल हुँदै आउने पर्यटकको माध्यमबाट समग्र गण्डकीले समृद्धि खोज्ने हो । तर, सोचेजस्तो भएको छैन । अन्तर्राष्ट्रिय भनिए पनि पहिलो गासमै ढुंगो लागेको छ । अन्तर्राष्ट्रिय उडान सुनिश्चित नहुँदा यो कतै आन्तरिक हवाइ अड्ढा हुने त हैन भन्ने आशंका मडारिएको छ । नागरिक उड्डयन प्राधिकरणले यो आशंकालाई निस्तेज पार्नुपर्छ ।

पोखराबाट भारतसहित छिमेकी मुलुकका सहरहरुमा हवाइ उडान सुनिश्चित गरिनुपर्छ । अन्तर्राष्ट्रिय उडान भएमात्र यसको दीगो संचालन सम्भव हुन्छ । दीगो संचालनको लागि आवश्यक पर्ने हवाइ रुटको प्राप्ति,अन्तर्राष्ट्रिय सहरहरुमा नियमित उडान र प्रवद्र्धन तत्कालको आवश्यकता हो । यतातर्फ, सवैको ध्यान जानुपर्छ । विमानस्थल सुन्दर छ तर सुन्दर हुँदैमा प्रतिफल आउँछ भन्ने हुँदैन । सेतोहात्ती नबनोस् भन्नका खातिर उडान गन्तब्यको पहिचानसहित प्रवद्र्धनात्मक कार्यक्रम संचालनमा ल्याइनुपर्छ । विमानस्थल बाहिरका पूर्वाधारहरुको स्तरोन्नति गर्न पनि अब ढिलाइ गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->