हाम्रा नेताहरुको मुखबाट सुुनिन्छ–नेपाल ल्याण्डलक्ड (भू–परिवेष्ठित) हैन, ल्याण्डलिक्ड (भू–सेतू ) हो । भारत र चीनजस्ता विशाल छिमेकी मुलुकलाई जोड्ने काम नेपालले नै गरेको छ । नेताहरु गलत छै्रनन् । भू–सेतु भएका नाताले नेपालसँग अवसर नै अवसर छ । तर, यही भू–सेतु कहिलेकाहिँ अभिषाप बनिदिन्छ । ठूला छिमेकीको साँधमा हुँदाका असरहरु अक्सर देखिइरहन्छन् र त्यसले आन्तरिक राजनीतिको स्वरुप नै बदलिनपुग्छ ।
विभिन्न ७ दलको समर्थनसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सपथ लिने दिनको अंकगणित हेर्ने हो भने, २७५ सदस्यीय प्रतिनिधिसभामा उनी पूर्ण बहुमतमा छन् । तर, प्रधानमन्त्रीले विश्वासको मत पाउन बाँकी छ । यही पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहँदा भने भूराजनीतिक द्वन्द्वका तरंगहरु प्रकट भइरहेका छनु । सरकार निर्माणमा मुख्य भूमिका निर्वाह गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि मित्रराष्ट्रहरु आफू अनुकूलको सरकार बनाउन उद्यत रहेको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहीसकेका उनले परोक्ष रुपले वर्तमान गठबन्धनप्रति छिमेकी भारत अनुदार देखिएको लुकाएका छैनन् । एमालेकै हस्तक्षेपका कारण अहिलेको गठबन्धन बनेको पनि उनको जिकिर छ । संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसमा अहिले छटपटी देखिएको छ । त्यो दलका नेताहरुले मुखमै आइसकेको सत्ता गुमेको असन्तुष्टिहरु व्यक्तमात्र गरेका छैनन्, यो सरकार धेरै नटिक्ने उद्घोष पनि गरेका छन् । यसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका साना दलका नेताहरुलाई प्रधानमन्त्रीको अफर गरिएका सूचनाहरु पनि बाहिरिएका छन् । यी यावत् घटनाक्रमहरुमा कांग्रेसमात्र नभएर छिमेकी भारतको पनि चासो रहेको एमाले अध्यक्ष ओलीको आरोप हो ।
देशको सार्वभौमसत्तामाथि नै खुलेआम चलखेल भएको आरोपलाई सामान्य मान्न सकिँदैन । ओलीले ओली बेलाबेला राष्ट्रियताप्रति बढी नै मोह देखाउँछन् । उनले देखाउने राष्ट्रवादी चरित्रमा पनि प्रश्न गर्ने ठाउँहरु छन् । भारतीय गुप्तचर विभागका प्रमुखलाई बालुवाटारमा मध्यरातमा भेट्नेलगायतका उनका गतिविधिहरु शंकाको घेराभन्दा बाहिर छैनन् । तर, नेपालको आन्तरिक मामिलामा विदेशीको हस्तक्षेपजस्तो संगीन विषयलाई हल्का पाराले लिनु हुँदैन । नेताहरुबाट सार्वजनिक खपतका लागि यस्ता विषय उठान भएको हैन भन्ने सम्झने हो भने नेपालले आफ्नो भू–राजनीतिक यथार्थता स्वीकार्नेपर्छ । आफ्नो थैली बलियो बनाउने र साना कुरामा पनि विदेशी गुहार्ने प्रवृत्तिमाथि आफैंले लगाम लगाउनुपर्छ ।
पछिल्लो समय नेपालमा भारत,चीन र अमेरिकालगायतका देशहरुको चासो बढ्दै गएकोमा द्धिविधा छैन । नेपाली राजनीतिमा भारतीय चासो पुरानै हो । अहिले मौन कुटनीति अपनाउने चीन पनि मैदानमै आइसकेको छ । टाढाको अमेरिकाको चासो पनि कम छैन । यी देशहरुको आ–आफ्ना स्वार्थहरु छन् । उनीहरु नेपालको मायाले यहाँको शुक्ष्म व्यवस्थापनमा चासो राख्न पक्कै आएका हैनन् । शक्तिराष्ट्रहरुले नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा सहयोग खोज्नु, छिमेकीको नाताले यहाँको अमनचयन र आफूविरुद्ध गतिविधि नहोस् भन्नुलाई अन्यथा मान्न मिल्दैन । भारत र चीनबीचमा नभएको भए, नेपालले यो अवसर पाउँदैनथ्यो । तर, साना कुरामा पनि विदेशी गुहार्ने, आफू अनुकूल नहुँदा त्यही राष्ट्रलाई सराप्ने तथा सानो कुरामा धीत छाड्ने प्रवृत्ति भने नेपाली नेताहरु छाड्नुपर्छ । नेपालभित्रको समस्या आफैंले सल्टाउने, विदेशी नगुहार्ने हो भने उनीहरुले गलत व्यवहार देखाउन पाउँदैनन् । यसको लागि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र नीति, कुटनीति र आर्थिक विकासमा व्यापक विस्तार र परिमार्जन,साझा सहमतिको खोजी गर्नैपर्छ । कुटनीतिलाई भँजाउने नियत राख्नुहुँदैन । अन्यथा,छट्टु स्यालको कथाजस्तो नियति आइरहन्छ । अहिलेको बाछिटालाई पनि त्यही रुपमा बुझ्नुपर्छ ।
