जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद् बैठक पोखरा घोषणापत्र जारी गर्दै सकिएको छ । परिषदले जारी गरेको घोषणापत्रमा संविधानले दिएको अधिकार प्रयोग गर्ने वातावरण बनाउन माग गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा २२० मा जिल्लासभा र जिल्ला समन्वय समितिको व्यवस्था गर्दै जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरू बीच समन्वय गर्न, सरकारी कार्यालय र पालिकाहरूबीच समन्वय गर्न, विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न जिल्ला सभा र जिल्ला समन्वय समितिको किटान गरिएको छ । तर, अहिलेसम्म पनि जिससहरुले त्यो अधिकार पाएका छैनन् । कारण एउटै छ, जिससको लागि आवश्यक पर्ने कानून नै बनेको छैन ।
कानून बनाउने जिम्मा पाएका प्रदेश सरकारहरुले जिससका प्रमुख र उपप्रमुखको अस्तित्व नै स्वीकार गर्न नमानेको पनि परिषद बैठकमा गुनासो गरिएको छ । जसले गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९२ मा जिससलाई एघार वटा काम, कर्तव्य र अधिकार दिएको छ । जसमा अनुगमन र समन्वयको पाटो महत्वपूर्ण छ । तर, जिससहरुलाई अनुगमनमा जानै सकस छ । गए पनि पालिका प्रमुख र वडा सदस्यसम्मले उनीहरुलाई टेरेका छैनन् । धेरै स्थानीय तहहरु प्राकृतिका स्रोतको दोहनमा लागेको र जिसस संयन्त्रलाई नै शत्रुको रुपमा व्यवहार गरिएको पाइएको छ । कतिसम्म भने कानून नबन्दा जिसस कोष संचालनमै समस्या परेको छ । कोष नहुँदा कर्मचारी र विज्ञ नियुक्ति गर्न जिससहरु असमर्थ देखिएका छन् । जिससलाई वर्तमान संविधानले चिनेको छ । जिससको भूमिकालाई लिएर प्रश्न उठाउन मिल्ला तर संविधानले नै चिनेको जिससको हात बाँध्नुलाई राम्रो मान्न सकिँदैन ।
आज जिससको भूमिका नदेख्नेले भोलि प्रदेश सरकार र अन्य सरकारको अस्तित्वमाथि नै प्रश्न उठाउने अवस्था नआउला भन्न सकिँदैन । पछिल्लो समय पालिकाहरु बेलगामजस्तै देखिएका छन् । पालिकाहरुले आफूखुसी योजना बनाउने, प्राकृतिक स्रोतको दोहन गर्ने प्रवृत्ति व्यापक बनेको छ । पालिका अधिकार सम्पन्न भएकोमा कुनै द्धिविधा छैन तर उनीहरुलाई नियमन गर्नुपर्ने आवश्यकता भने पक्कै छ । जिससले त्यो भूमिका निभाउन सक्छ । र, त्यसको लागि कानून बनाइनैपर्छ । जिससको हात बाँध्न मिल्दैन । त्यसो गर्नु संविधानमाथिकै प्रहार हुन्छ । तर, जिससले पनि आफूलाई सर्वेसर्वा ठान्ने भूल भने गर्नुहुँदैन । अनुगमनको नाममा आफ्नो प्रभुत्व बढाउने मनोवृत्ति देखाउँदा जिसस साँच्चिकै कार्यकर्ता व्यवस्थापन गर्ने थलो प्रमाणित हुन्छ भन्ने बिर्सनु हुँदैन ।
