बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीका मुख्यमन्त्रीका कार्यभार

गण्डकीका मुख्यमन्त्रीका कार्यभार


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७९, बुधबार

गण्डकीको तेस्रो मुख्यमन्त्रीको रुपमा खगराज अधिकारीको कार्यकाल सुरु भएको छ । ४ सदस्यीय मन्त्रिपरिषद् गठनसँगै उनले आफ्नो कार्यकालको थालनी गरिसकेका छन् । उनी नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेशका ११ वटै जिल्लामा रहेका मृगौलापीडितलाई लक्षित गरी डायलासिस सेवा विस्तार गर्ने पहिलो निर्णय गरेको छ । मृगौलापीडितहरुको समस्या कहालीलाग्दो छ । खगराज नेतृत्वको सरकारले रोगबाट पीडितमा पहिलो दृष्टि दिनु सकारात्मक छ । संघीय स्वास्थ्यमन्त्री रहीसकेका उनीबाट जनताले परिणाममुखी कामसहित सुशासन एवं द्रूतसेवाको अपेक्षा गरेका छन् । जुन चुनौतीपूर्ण र अपरिहार्य छ ।

मुख्यमन्त्रीको रुपमा खगराजले विश्वासको मत लिन बाँकी छ । तर, अहिलेको सत्ता गठबन्धनमा स्पष्ट बहुमत रहेकाले त्यो काम फत्ते हुने नै छ । लामो राजनीतिक यात्रा, संघीय सरकारको स्वास्थ्यमन्त्री पनि भएकाले शासन संचालनबारे उनीसँग प्रसस्त अनुभव छ । कर्मचारीतन्त्रबाट हुने ढिलासुस्ती, नीतिगत अप्ठेरा एवं राजनीतिक नेतृत्वबाट सम्पादन हुनुपर्ने कार्यप्रति उनी जानकार नै छन् । संघको मन्त्री हुँदा प्रधानमन्त्रीप्रति उत्तरदायी भएझैं अब उनीप्रति उत्तरदायी रहने मन्त्रिपरिषद् छ । उनी कार्यकारी पदमा छन् । जस र अपजस दुवैको भारी उनकै काँधमा छ । हो,प्रदेशसँग सीमित स्रोत र साधन छ । त्यसको समुचित उपयोग र बाँडफाट,उचित निर्णय,पारदर्शी र चुस्त प्रशासनमा अव उनको अर्जुनदृष्टि हुनैपर्छ ।

अर्कोतर्फ, प्रदेश सरकारले पाँच वर्ष पूरा गरेको छ तर यसले अझै औचित्य पुष्टि गर्न सकेको छैन । प्रदेश सरकारले राज्यकोषमा अतिरिक्त बोझ बढाएको आरोपका स्वरहरु चर्का हुँदै गएका छन् । प्रदेश सरकार स्वयंकै कतिपय कृत्यहरुका कारण ऊ आलोचित छ । कानूनहरु बनेका छैनन् । प्रदेश सरकारलाई अधिकार दिने मामिलामा संघ सरकार अझै उदाशीन देखिएको छ । यस्तोमा उनले अधिकार प्राप्ति, कानून निर्माण तथा प्रदेश र स्थानीय तहबीच समन्वय गर्नुपर्ने देखिएको छ । प्रदेश सरकारले सुरु गरेका, घोषित तर सुरु नै नभएका परियोजनाहरुको संचालन पनि उनकै दायित्व हो । प्रदेश सरकारले स्थापनाताका गरेको उज्यालो प्रदेश, एक घरःएक धारा,सवै पालिकामा सडकदेखि सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि उनले उसैगरी संचालनमा ल्याउनुपर्छ । जनताले खोजेको सुशासन र द्रूतसेवालाई केन्द्रमा राखेर उनले आफूलाई प्रमाणित गर्नुपर्ने छ । निष्कलंक चरित्र उनको गहना हो । मुख्यमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै गर्दा उनले त्यो गहनालाई अझ उजिल्याउन सक्नुपर्छ । काखा र पाखा नेपाली राजनीतिको डरलाग्दो रोग हो । त्यो रोगबाट पनि उनी जोगिनैपर्छ । त्यसो गर्नसके उनी सफल हुनेछन् र उनको सफलताबाट यहाँका जनताले पनि लाभ पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->