बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अब यस्तो नहोस् !

अब यस्तो नहोस् !


  • Dhorpatan News
  • माघ ३ २०७९, मंगलबार

२०७९ साल माघ १ गते आइतबार काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको छ । चार चालक दल र ६८ यात्रुसहितको विमान धावनमार्ग छुन नपाउँदै सेती खोंचमा खसेको थियो ।

विमान दुर्घटनाले देश र विशेषतः सिंगो गण्डकीलाई नै शोकमग्न बनाएको छ । जहाज दुर्घटनाको कारण पत्ता लागेको छैन । दुर्घटनाको कारण मानवीय हो वा इञ्जिनमा देखिएको खराबी हो भन्ने पनि प्रष्ट छैन । विज्ञहरुको प्रारम्भिक बयानले भनेझैं यो मानवीय कमजोरी नै हो भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ तर जहाजले किन सुरक्षित बाटो नरोजेर अर्को दिशाबाट अवतरणको प्रयास ग¥यो भन्ने विषय भने गम्भीर देखिएको छ । ब्ल्याक बक्स भेटिएको छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । अर्थात्, टावर र पाइलटले गरेका कुराहरु त्यहाँ सुन्न सकिन्छ ।

जहाज दुर्घटनापछि नेपाल सरकारले सत्य–तथ्य छानबिनका लागि पूर्वसचिव नागेद्र घिमिरेको संयोजकत्वमा गठित ५ सदस्यीय जाँचबुझ आयोगले सोमबारबाटै काम थालेको छ । ४५ दिनभित्र आयोगले दुर्घटना दोहोरिन नदिनका लागि गर्नुपर्ने कार्यहरु समेटेर सुझाव दिन भनिएको छ । आशा गरौं, यो समितिले दुर्घटनाको कारण र सुरक्षित आकासको लागि के गर्ने भन्ने स्पष्ट मार्गनिर्देशन दिनेछ । त्रासदीपूर्ण दुर्घटनाको सत्य–तथ्य बाहिर आउनैपर्छ । यसो भनिरहँदा नेपाली आकास सुरक्षित नहुनुमा हाम्रो हवाइ क्षेत्रको लापरबाही पनि भएको कसैबाट छिपेको छैन । खराब मौषममा जहाज उडाउने,इञ्जिनको खराबी चेकजाँच नगर्ने,नियमहरुको अवज्ञा गर्ने तथा नियमनकारी निकायहरुले आँखा चिम्लने रोगबाट हवाइ क्षेत्र मुक्त हुनुपर्छ ।

अर्कोतर्फ, उडान क्षेत्रमा काम गर्नेहरुको मनोबल खस्काउने,हतोत्साहित गर्ने तथा उनीहरुको मानशिक अवस्थाबारे ख्याल नगर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ ।आकासे यात्रामा सुरक्षामा सम्झौता गर्न पाइँदैन । तर, कागजमा सवै ठीकठाक देखाउने र व्यवहारमा नियमहरु पालना नगर्ने प्रवृत्तिले हाम्रो हवाइ क्षेत्रलाई जकडेको छ । जबसम्म यी नियमहरुको कडाइपूर्वक परिपालना हुँदैन,तबसम्म नेपाली हवाइ आकास सुरक्षित हुनसक्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->