पोखरा/ काठमाडौंबाट आईतवार पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन-एएनसी-एटीआर ७२-५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं पुराइएको छ ।
काठमाडौं पुराइएका ती सवै शवहरुको मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलवार राती सकिएपछि आज बिहानदेखि शव परीक्षण सुरु गरिएको छ ।
नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मंगलवार दिउँसो काठमाडौं पुराइएका शव विहान ८ बजेबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको हो ।

कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिनेछ । पोखरामा परीक्षण गरिएका २२ वटा शव भने आफन्तलाई वुझाई सकिएको छ ।
चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । बाँकी एक व्यक्ति अझै अज्ञात रहेकाले खोजीकार्य भइरहको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसीले वताए ।





