भारतको उत्तराखण्डको जोशीमठ सहरको जमिन भासिँदै गएको छ । जमिन भासिँने उपक्रमसँगै घरहरु चर्किन थालेका छन् । करिब २० हजार नागरिक बसोबास गर्ने पहाडी सहरमा आएको विपद्का कारण कयौं परिवारहरु बिस्तापित भएका छन् । जमिन यही क्रमले भासिँदै जाने हो भने, यो सहरको अस्तित्व नै नरहने बैज्ञानिकहरुले बताएका छन् ।
जोशीमठ भासिँनुमा मानवीय गतिविधिहरु दोषी हरेको विभिन्न अध्ययनहरुले प्रष्ट पारेका छन् । जोशीमठ अत्यधिक भूकम्पीय जोखिम भएको क्षेत्र हो । यो सहर नै भूकम्प गएपछि जम्मा भएको माटोमाथि रहेको छ । जमिनमुनिको पानीको अत्यधिक उपयोगलाई पनि जोशीमठ भासिँनुको कारक मानिएको छ ।
जमिन मुनिको पानी प्रयोग गर्दा त्यसले माथि रहेको माटो र ढुंगाहरुलाई कमजोर बनाउँछ र अन्ततः त्यो भासिँन पुग्छ । जोशीमठको भौगोलिक अवस्था बुझेर नै एक अध्ययनले त्यहाँ ठूला संरचना निर्माण गर्न रोक लगाएको थियो । तर, त्यसको पूरै वेवास्ता गरियो । जमिनमुनि ठूलो सुरुङ खनेर जलबिद्युत परियोजना बनाउन थालियो । जसले गर्दा यहाँ विपत्तिको घण्टी बजेको हो । हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल केदारनाथ जाने बाटोमा पर्ने जोशीमठमा आएको विपत्तिलाई जलवायू परिवर्तनसँग पनि जोडेर हेरिएको छ ।
जोशीमठको विपत्ति नेपालको लागि सावधानी अपनाउने घटना बनेको छ । जोशीमठजस्तै नेपाल पनि भूकम्पीय जोखिम क्षेत्रमा पर्छ । नेपालले २०७२ सालको भूकम्पको क्षति अझ बिर्सेको छैन । अर्कोतर्फ, नेपालमा पछिल्ला दिनहरुमा वातावरणीय मूल्याङ्कन बिना नै प्रकृतिको दोहन र भौतिक संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । जसले गर्दा यहाँका हिमाली र पहाडी क्षेत्रहरुमा बाढी–पहिरोजस्ता विपत्तिहरु बढ्दै गएका छन् जथाभाबी खनिएको बाटो,प्राकृतिक स्रोतको दोहनको श्रृंखला यति डरलाग्दो छ कि, यहाँका कुनै पहाडहरु सग्ला छैनन् । नकोट्याइएका कुनै नदी छैनन् ।
वातावरणीय मूल्याङ्कनलाई कागजमा सीमित राखेर भौतिक निर्माण गरिँदा वातावरणीय सन्तुलत बिग्रेको छ । हिमाली क्षेत्रमा जलवायू परिवर्तनको असर देखिइसकेको छ । तर, सरकारले भने यो मुद्दा र गम्भीरताप्रति आँखा चिम्लेको छ । विकासको नाममा अन्धाधुन्द डोजर चलाइएको छ । प्रकृतिको विनाश गरिएको छ । जसले गर्दा जुनसुकै बेला पनि प्राकृतिक विपत्ति थाप्लोमा बज्रिने त्रास बढेको छ । नेपालमा अहिले जलबिद्युत आयोजना निर्माणको लहर चलेको छ । गाउँ र बस्तीहरुमुनि सुरुङ बनाइएको छ ।
कतिसम्म भने, अन्नपूर्ण हिमालको फेदसम्म पनि हाइड्रोको नाममा विनाश श्रृंखला चलाइएको छ । जसले गर्दा गुरुङहरुको आदिम बस्ती क्होंलासोँथर क्षेत्रमा पानीका मुलहरु सुक्न थालेका छन् । प्रकृतिले चेतावनी दिन्छ । अहिले दिएको चेतावनीलाई वेवास्ता गर्ने हो भने आउँदा दिनहरुमा हामीले ठूलो मार खेप्नुपर्ने निश्चित छ । अतः प्रकृतिको दोहन रोक्न आवश्यक कदम चाल्ने बेला आइसकेको छ । ढिलो गरे,हाम्रा बस्तीहरुले पनि जोशीमठको नियति भोग्नुपर्ने निश्चित छ ।
