शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पोखरा विमान दुर्घटनाका १४ शव पहिचान गर्न डीएनए परीक्षण गर्ने तयारी

पोखरा विमान दुर्घटनाका १४ शव पहिचान गर्न डीएनए परीक्षण गर्ने तयारी

एउटै शवमा दुई-तीन जनाले दाबी गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७९, शुक्रबार

पोखरा/पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ ।

दुर्घटनामा फेला परेकामध्ये १४ वटा शव पूरै जलेको र टुक्रा-टुक्रा भएकाले डीएनए परीक्षण गर्नुपर्ने भएको छ । डीएनए परीक्षणका लागि कम्तीमा दुई महिना लाग्ने विज्ञहरूको भनाइ छ ।

नराम्रोसँग जलेका, अंगभंग भएका बाँकी १४ शवको पहिचान गर्न डीएनएबिना सम्भव नभएको त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागले जनाएको छ । विभागका अनुसार डीएनए परीक्षणपछि मात्र ती शव आफन्तलाई बुझाइनेछ ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी भन्छन्, ‘पहिचान नभएका मध्ये धेरैजसो शव जलेर नचिनिने अवस्थामा छ । कसैको हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै छ । एउटै शवमा दुई-तीन जनाले दाबी गरेका छन् ।’

उनले फिंगर प्रिन्ट, दाँत र शरीरको बनावटका आधारमा शवको पहिचान गर्ने कोसिस गरिरहेको बताए । ‘कतिपय शव टुक्रा–टुक्रा र शरीरभरि चोट भएकाले पहिचान गर्न डीएनएबाहेक अन्य विकल्प छैन,’ उनले भने, ‘सबैको डीएनए परीक्षणको रिपोर्ट आउन कम्तीमा दुई महिना लाग्छ ।’

दुर्घटनामा परेकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जनाको शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो । बाँकी ४८ वटा शव मंगलबार राजधानी लगिएको थियो ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका अनुसार राजधानी लगिएका मध्ये बिहीबार साँझसम्म पोस्टमार्टम गरेर २२ वटा शव आफन्तलाई बुझाइएको छ । विभागका अनुसार थप १३ वटा शव मृतकका आफन्तले बनावट, ट्याटु, लुगा, उमेर, गरगहनालगायत हेरेर पहिचान गर्ने प्रयास गरिरहेका छन् ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका विशेषज्ञ डा. गोपाल चौधरीको नेतृत्वमा चार जना, पाटन अस्पतालका दुई, भक्तपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक/एक जना, प्रहरी, दन्त विशेषज्ञसहित ३० जनाको टिमले शव परीक्षणको काम गरिरहेको छ । त्रिवि शिक्षण अस्पतालले विमान दुर्घटनासम्बन्धी फरेन्सिक विभागमा सूचना डेक्स राखेको छ ।

मृतकका आफन्त शव पाइने आसमा हरेक दिन विभाग परिसर पुग्ने गरेका छन् । आफन्त गुमाएको पीडामा रहेका उनीहरूलाई शव पर्खाइले थप मर्माहत बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->