माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको त्रासदी कायमै छ । दुर्घटनामा निधन भएकाहरुको शव आफन्तसम्म पुगेकै छैन । एकजना यात्रु अझै हराइरहेका छन् । दुर्घटनापछि बजारमा विभिन्न खाले हल्लाहरु फैलिइरहेका छन् । नेपाली हवाइ क्षेत्रका सुरक्षालाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका छन् । जसलाई अस्वभाविक मान्नुपर्ने कारण पनि छैन । पटक–पटक हुने हवाइ दुर्घटनाले नै यस्ता प्रश्नहरु उठान गराएको पनि द्धिविधा छैन । नेपाली आकास असुरक्षित हुनुमा कतै नियमनकारी निकायहरुको लापर्वाही त हैन ? भन्ने प्रश्नको निरुपण अहिले अझ पेचिलो बनेको छ । दुर्घटनाको कारण खोज्न समिति गठन भएको छ । पूर्वसचिव नागेद्र घिमिरे संयोजकत्वको पाँच सदस्यीय समितिले ४५ दिनभित्र प्रतिवेदन बुझाउँदा दुर्घटनाको कारण जानकारीमा आउला भन्ने आम अपेक्षा छ ।
तर, यही बीचमा हवाइ क्षेत्रमा अर्को लापरवाहीपूर्ण घटना भएको छ । माघ ५ गते स्याङ्जाको वालिङ खेलमैदानमा फुटबल चलिरहँदा हेलिकोप्टर अवतरण गराइएको छ । खेलाडीहरु लाखापाखा लागेकाले त्यहाँ ज्यानै जाने अप्रिय घटना त भएन तर चालकमाथि कुटपीट गरिएको छ । बाध्यतावशः खेलमैदानमै हेलिकोप्टर अवतरण गराउनु परेको चालकको भनाइ छ । तर, स्थानीय युवाहरुले भनेकै भरमा चार्टर्ड गरेको हेलिकोप्टर खेल भइरहेको मैदानमा अवतरण गराउनुमा चालककै दोष बढी छ ।
हेलिकोप्टरले जहाँबाट पनि उडान भर्ने र अवतरण गर्न पाउँदैन । दुर्गम र कठीन भूभागमा जान, आपतकालीन अवस्थामा उद्धारको लागि प्रयोग हुने हेलिकोप्टरले पनि नीति नियम पालना गर्नैपर्छ । उसले स्थानीय प्रशासनसँग अवतरण र उडान अनुमति लिनुपर्छ । हवाइ उड्डयन कार्यालयसँग समन्वय गरिनुपर्छ । चराजस्तै जतापायो त्यतै उड्ने अनुमति हेलिकोप्टरलाई हुनै सक्दैन । त्यसले दुर्घटना निम्त्याउँछ । झन खेलमैदानमै अवतरण गराउनुलाई त कुनै कोणबाट पनि सही मान्न सकिँदैन । जहाजमा उदण्ड युवाहरु रहेकोमा कुनै द्धिविधा रहेन तर उनीहरुलाई किन चढाइयो भन्ने प्रश्न पनि यहाँ जोडिन आउँछ । यो घटनामा मादक पदार्थ सेवन गरेका यात्रु जति दोषी छन्, त्यति नै दोष चालकको पनि देखिन्छ ।
हो, उनीमाथि दुव्र्यवहार भएको छ । इञ्जिन बन्द नभएको हेलिकोप्टरका चालकलाई हातपात गरेर स्थानीयले पनि ठूलो गल्ती गरेका छन् । तर,त्यही कारण देखाएर चालकले उन्मुक्ति पाउनु हुँदैन । यो सामान्य घटना हुँदै हैन । यसको छानबिन र दोषीमाथि कडा कारबाही गरिनुपर्छ । आइन्दा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन र हवाइ क्षेत्रलाई सुरक्षित बनाउन नियमनकारी निकायले विशेष कदम चाल्नुपर्छ । यसअघि पनि हेलिकोप्टरहरुले नीति नियम नमानेका विषयहरु नआएका हैनन्, ती विषयहरुलाई पनि नजरअन्दाज गरिनु हुँदैन ।
