बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डा. रुइतको सत्कर्म

डा. रुइतको सत्कर्म


  • Dhorpatan News
  • माघ ९ २०७९, सोमबार

नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइत यतिबेला चर्चामा छन् । बहराइन सरकारले १० लाख डलरको ‘इसा अवार्ड’ प्रदान गर्ने घोषणा गरेसँँगै यी कर्मवीरको चर्चा चुलिएको हो । त्यसो त उनले रोमन म्यागासेसेलगायतका कयौं सम्मान पाइसकेका छन् । उनलाई भगवान मान्नेहरुको कुनै कमी छैन । मान्छेको आँखामा उज्यालो ल्याउने अभियानका नायक साँच्चिकै भगवानका स्वरुप भएकोमा पनि द्धिविधा छैन ।

नेपालसहित विश्वका हजारौंको आँखामा दृष्टि फर्काएका डा.रुइतलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा ठूलै बहस छेडियो । तर, डा.रुइतले त्यसलाई सोझै अस्वीकार गरे । आँखा उपचारभन्दा बाहिरको क्षेत्रमा अनुभव नभएको र राष्ट्रपति पद आफ्नो लागि नभएको बताएर उनले वाहवाही बटुले ।

डा. रुइत वाहवाही गर्नुपर्ने पात्र नै हुन् । दुई सय डलरको बीउ पूँजीबाट तिलगंगा आँखा अस्पताल संचालनमा ल्याएका उनले आँखा उपचारमा क्रान्ति गरेका छन् । मोतिविन्दूको उपचारलाई सस्तो र भरपर्दो बनाएका छन् । स्वदेशमै लेन्स उत्पादन गरी विश्व बजारमा पु¥याउने काम चानचुने हुँदै हैन । ताप्लेजुङको ओलाङचुङ्गोलामा जन्मेका रुइतले मोतिविन्दूको शल्यक्रियााम जुन विशिष्ठता प्राप्त गरेका छन्, त्यसले नेपालको नाम विश्वभर चिनाएको छ । तर, यो उपलब्धी एकरातमा भएको हैन ।

उनले जीवनमा ठूलो हण्डर खाएका छन् । आँखा उपचारको नयाँ प्रविधि सुरु गर्दा चिकित्सा क्षेत्रका नियमनकारीहरुबाट हतोत्साह गरिएका तीता अनुभव पनि उनीसँग छन् । तर, उनले हरेस खाएनन् । निरन्तर कर्मको प्रतिफल नै उनको सफलता हो । अहिले पनि डा.रुइत समुदायमा आधारित गुणस्तरीय सेवा दिने आँखा अस्पताल स्थापनाको अभियानमा छन् । आँखा उपचारमा अझ आधुनिक प्रविधिको विकासमा पनि उनको अर्जुनदृष्टि छ । यी यावत् कामहरु अन्धोपन निवारण अभियानकै हिस्सा भएको डा.रुइतले बताउँदै आएका छन् ।

शल्यक्रियालाई सरलीकृत गर्नु तथा आँखा उपचारलाई अझ सस्तो बनाउने अभियानको नेतृत्व गरेका डा.रुइतबाट नेपाली समाजले सिक्नुपर्छ । उनको अभियानलाई साथ दिनुपर्छ । स्वास्थ्य र आँखाको उपचार मानिसको जन्मसिद्ध अधिकार हो । डा.रुइत त्यही अधिकार मान्छेलाई दिँदैछन् । उनले अहिले आँखा सेवा विस्तारको जुन अभियान चलाएका छन्, त्यसमा सरकारले सहयो गर्नैपर्छ । त्यो नै रुइतलाई गरिने सवैभन्दा ठूलो सम्मान हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->