बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रविले नैतिकताको ख्याल गरुन्

रविले नैतिकताको ख्याल गरुन्


  • Dhorpatan News
  • माघ १६ २०७९, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पुनः वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । अमेरिकी नागरिकता र पासपोर्ट लिएपछि पनि नेपाली नागरिकता नत्याग्नु,पुरानो नागरिकता प्रयोग गर्दै सांसदको चुनाव लड्नु र उपप्रधान तथा गृहमन्त्री बन्नु कानूनसम्मत नभएको ठहरसहित सर्वोच्च अदालतको फैसला गरेपछि रवि नागरिकताविहीन बनेका थिए ।

उनको सांसद, उपप्रधान र गृह एवं रास्वपाको अध्यक्ष पद पनि गुमेको थियो । रवि नेपाली भएकोमा कुनै शंका थिएन तर उनले कानून अनुसार नेपाली नागरिकता प्राप्त गरेका थिएनन् । नागरिकता लिएसँगै रवि पुनः रास्वपाको पार्टी अध्यक्ष भएका छन् । नागरिकता प्राप्तिसँगै एउटा प्रक्रिया पूरा भएको छ । तर, रविमाथि अझै केही आरोपहरु रहेकै छन् । उनीमाथि राज्यलाई डाँटेको फौजदारी अभियोग पनि आकर्षित हुने सम्भावना ज्यूँदै छ । दोहोरो राहदानीको विषयमा अनुसन्धान हुँदा दूधको दूध र पानीको पानी पनि होला तर यो प्रकरणपछि रवि स्वंयले भने अझै सच्चिनुपर्ने देखिएको छ ।

रवि मान्छे नै हुन् । मान्छेबाट गल्ती हुन्छ तर त्यसलाई लुकाउने प्रपञ्च वा राज्यको न्यायप्रणाली प्रभावित गर्ने प्रपञ्च गरिनु हुँदैन । रविले त्यही गरे । उनले आफूमाथि अनुसन्धान गर्ने गृहमन्त्रालय रोजे । सुशासनको नारा दिने रविले यहीँनेर दोहोरो चरित्र देखाए । रास्वपाले अझै पनि गृहमन्त्रीमा दाबी गरिरहेको छ । गृहमन्त्रीमा उसको दाबी स्वभाविक होला तर त्यो पदमा पुन ः उनै रविलाई पु¥याउनु भने हुँदैन । गैरसांसदको हैसियतले मन्त्री बन्ने चाहना देखाउनु हुँदैन ।

रवि र रास्वपाबाट जनताले परिवर्तन र सदाचारिताको आशा गरेका छन् । फौजदारी अभियोग प्रमाणित नभएमा उनी आउँदो उपनिर्वाचनमा चुनाव लड्ने योग्यता राख्छन् । वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउँदै गरेको रास्वपा र रविसँग जनताका अपेक्षाहरु धेरै छन् । ती अपेक्षा पूरा गर्न एवं आफूलाई स्वच्छ छविको राजनीतिज्ञको रुपमा प्रमाणित गर्न रवि संयमित हुन जरुरी छ । उनको उदय र सर्वोच्चको फैसलालाई लिएर विभिन्न टिका टिप्पणी भइरहँदा रविले कानून पालना गर्नैपर्छ । आफूलाई नैतिकता चटक्कै बिर्सने ‘उही ड्याङको मुला’ हुनबाट जोगाउनुपर्छ । अदालतले उनीमाथि पूर्वाग्रह राखेकै हैन । कानून सवैभन्दा माथि छ भन्ने प्रमाणित गरेको हो । रविले कानूनको पालना र नैतिकता जोगाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->