केही दिनयता आत्मदाह र आत्महत्याका समाचार सुन्न हामी अभिषप्त भएका छौँ । कानूनले बर्जित यी दुबै कृत्यहरु कमजोर मानसिकताका उपज हुन् । यस्तो प्रवृत्तिलाई कुनै पनि कोणबाट सही मान्न सकिँदैन । तर,आत्मदाह र आत्महत्या गर्नेहरुले उठाएका प्रश्नहरुले भने हामीलाई गम्भीर बनाएको छ । उनीहरुले नेपाली शासक वर्गमाथि उठाएका केही प्रश्नहरुप्रति संवेदनशील हुनुपर्ने देखिएको छ । नेपालको संविधानले समाजवादी राज्य व्यवस्थाको परिकल्पना गरेको छ । तर, नेपाली समाजमा वर्गीय विभेद बढदै गएको पछिल्ला तथ्यहरुले पुष्टि गरेको छ ।
व्यापार व्यवसाय गर्ने वातावरण बिथोलिएको छ । बैंकको बढ्दो ब्याजदर,ठूला व्यवसायीहरुबाट दिइने यन्त्रणा र बजारको अभाव तथा प्रतिस्पर्धी क्षमता बृद्धिमा कतैबाट सहयोग नहुँदा व्यवसायबाट पलायनको विकल्प नै हुन छाडेको छ । कोभिडपछि साना तथा मझौला व्यवसायहरु उठ्नै नसक्ने गरी थलिएका छन् ।
आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको जिकिर सही मान्ने हो भने, नेपालमा गरिखाने वातावरण बिग्रिएको छ । राज्य संयन्त्र यति कमजोर भएको छ कि, केही गर्छु भन्ने व्यक्तिसँग सहयोगको हात फैलाउने ठाउँ पनि बाँकी छैन । देश मुट्ठीभरका व्यक्तिको लागि स्वर्ग बनेको छ । सरकारले कृषिको नाममा अनुदान दिएको छ तर त्यसको लाभ ठूलाले नै पाएका छन् । काम गर्छु भन्नेलाई न सहुलियत छ, न सुविधा । उत्पादित सामग्रीको बजार सुनिश्चित छैन । बैंक तथा वित्तीय संस्थाहरुको सुदखोर धन्दा फस्टाएको छ । ऋण तिर्न पटक–पटक ताकेता गर्ने, ब्याजको स्याज लिनेहरुमाथि नियमन नै छैन । ऋणीलाई मानसिक तनाब दिने र आत्महत्या गर्न बाध्यपार्नेहरुमाथि कारबाही हुँदैन । पीरको सुनुवाइ हुँदैन ।
नागरिकलाई निरीह भएको महशुस गराउने काम राज्यबाटै भइरहेको छ । प्रेमप्रसादलगायतका व्यवसायीहरुमाथि न्याय नदिँदा देश राज्यविहीनजस्तै बनेको छ । आत्मदाहलाई सामान्य रुपमा बुझिनु हुँदैन । सरकारले आयोग त गठन गरेको छ । तर, दिनहुँ मानसिक यन्त्रणा सहन बाध्यहरुको पीडा के हो भन्ने बुझ्नेतर्फ सार्थक पहल भएकै छैन । नेताहरु समवेदनाका शब्दहरु खर्चेर दोष अरुमाथि थोपर्न उद्यत देखिएका छन् । यी र यस्ता घटनाको जरो कमजोर राज्य संयन्त्रसँग जोडिएको कुरामा भने सवैले बुझ पचाएजस्तो गरेका छन् । राज्यले पछिल्लो समय व्यवसायीहरुमा देखिएको यो गम्भीर समस्याको समाधान खोज्न ढिलाइ गर्नु हुँदैन । ज्यानै फाल्ने परिस्थितिलाई अमूक रोग वा कमजोर मानसिकताको रुपमा बुझ्ने खेलाँची पनि राज्यबाट सुहाउँदैन । राज्य गम्भीर बन्नैपर्छ । मुल कुरा, मुट्ठीभरकाको लागि यही देश स्वर्ग हुने र निमुखाहरु पिल्सिने अहिलेको नियतिबाट मुक्ति दिलाउनेतर्फ लाग्नुपर्छ ।
