राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सरकारबाट बाहिरिएको छ । दोहोरो नागरिकता मुद्दामा सर्वोच्च अदालतले अध्यक्ष रविलाई सांसद,उप्रधान र गृहमन्त्री नै रहन अयोग्य ठानेपछि उत्पन्न परिस्थितिले रास्वपाको बर्हिगमन भएको हो । रवि नै नरहेपछि बाँकी तीनजना मन्त्रीले पनि सोमबार राजिनामा बुझाएका छन् । राजिनामा दिइहाले पनि अध्यक्ष रविले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र उपनिर्वाचन लड्ने घोषणा गरेका छन् ।
अदालतले दोषी ठहर गरेपछि पनि रविको सत्तामोहको अन्त्य भएको थिएन । त्यही महत्वाकांक्षाका बीच उनले आफूलाई एकैदिनमा साधारण सदस्य र अध्यक्ष बनाए । गैरसांसदको रुपमा पुनः गृहमन्त्री हुने जमर्को गरे । तर, प्रधानमन्त्री प्रचण्डले मागेको गृहमन्त्रालय नदिएपछि रविले सरकारमा बस्न उचित ठानेनन् । राजिनामा बुझाए । उनी सदनबाट सडकमा आएका छन् । उनको पार्टीसँग अहिले पनि १९ जना सांसद छन् । ती सांसदमध्ये कसैलाई मन्त्रीको रुपमा स्वीकार्ने धृष्टता रविमा देखिएन । उनीले आफूलाई नै पार्टीको सर्वेसर्वा ठाने र अन्य सांसदहरुहरुलाई पनि अवसरबाट बञ्चित बनाए । हो, रवि नेतृत्वको पार्टीलाई जनताले सत्ता समहाल्न हैन, प्रतिपक्षमै बस्न पठाएका थिए । तर, सत्ताको स्वाद चाखिसकेपछि र आफूबाहेक अरुलाई नेतृत्व दिने अवस्थामा रविले जे गरे, त्यसमा मै सर्वेसर्वा हुँ भन्ने भावना प्रतिबिम्बित भएको छ । उनले सत्ता छाडेपछि हिजो आफैले गरेको कर्म र त्यसमा संलग्न व्यक्तिहरुप्रति पनि विषबमन गरे ।
नामै किटेर उनीहरुको चरित्रमाथि आक्षेप लगाए । अनि, आफू प्रधानमन्त्री भएर आउने उद्घोष गरे । उनको बर्हिगमनले सत्ता गठबन्धनलाई पार्ने प्रभाव वा नेपाली राजनीतिको सम्भावित परिदृष्य बिर्सने हो भने ,उनले जे गरे, त्यो राम्रो गरेनन् ।
राजनीतिमा आरोह–अवरोह स्वभाविक हुन्छ । पार्टी गठन गरेको ६ महिनामै जनताले रविलाई पत्याए । जनअनुमोदित हुनुमा रविको कर्म कारक थियो । उनले पत्रकारितामै रहेर देखिने गरी जनताका काम गरेका थिए । समग्रमा पत्रकारिता उनलाई फापेको थियो । तर, रविले गलत गर्दा पत्रकारिता मौन बस्न सक्दैनथ्यो । पत्रकारिताले उनको विरोध ग¥यो ।
त्यो रोष उनले पत्रकार सम्मेलनमा प्रकट गरे अनि आफूबाहेक सवै पत्रकार खराब भएको जिकिर गरिदिए । हो, पत्रकारितामा दोष होलान्, सवै राम्रा नहोलान् तर आफूबाहेक अरुलाई खराब देख्नु भनेको रविको दृष्टिदोष र अहम् हो । अहम्को विसर्जनले मात्र मान्छे महान हुन्छ भन्ने उनले बिर्सिए । उनी अहिले हुँकार गरिरहेका छन् । आवेश त्यो स्वभाविक पनि मान्न सकिएला तर आफूबाहेकलाई दोषी देख्नु र तल्लो दर्जामा ओर्लिएर विषबमन गर्दा स्वयंको उचाइ घटेको रविले बिर्सिएका छन् । बाँकी त अब उनी परीक्षामै छन् ।
