टर्की र सिरियामा गएको भूकम्पमा परी हजारौँ मान्छेको ज्यान गएको छ । उद्धार कार्य जारी रहँदा र कयौं हराइरहेले त्यो संख्या बढ्ने अनुमान गरिएको छ । त्रासदीपूर्ण भूकम्पले त्यहाँ पु¥याएको मानवीय र भौतिक क्षतिको आँकलन गर्न मुस्किल छ । बिहान सुतिरहेको बेला आएको ७.८ म्याग्नेच्यूटको भूकम्पले टर्की र सिरियामात्र नभएर सिंगो विश्वलाई स्तब्ध बनाएको छ । नेपालले पनि भूकम्पग्रस्त टर्कीमा उद्धार तथा मेडिकल टिम पठाउने घोषणा गरेको छ ।
२०७२ सालमा नेपालले पनि त्यस्तै भूकम्प व्यहोरेको थियो । करिब ९ हजार जनाको ज्यान लिने सो भूकम्पका कारण घाइते हुनेहरुको संख्या २१ हजारभन्दा बढी थियो । भूकम्पले हजारौंलाई घरबारविहीन बनायो भने सम्पदा र पूर्वाधारहरु नष्ट भए । ती सम्पदाहरुमध्ये केहीको पुनर्निर्माण अझै बाँकी छ । गोरखा भूकम्पपछि पनि नेपालमा भूकम्पका पराकम्पहरु आउने क्रम जारी छ ।
नेपाल भूकम्पको अति जोखिमध्येको क्षेत्रमा पर्छ । यहाँ जतिबेला पनि ठूलो भूकम्प जाने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । १९९० को महाभूकम्पपछि २०७२ सालमा आएको भूकम्पबाट हामीले धेरै कुरा सिकेका छौँ । खासगरी भूकम्पपछिको उद्धार,उपचार र राहत वितरणजस्ता तयारीहरुको अपरिहार्यता महशुस भएको छ । प्रतिकार्यको कमजोर तयारीले क्षति बढी हुँदोरहेछ भन्ने ज्ञान भएको छ । भूकम्पलाई रोक्न सकिँदैन तर सावधानी अपनाउँदै क्षति कम गर्न सकिन्छ । यसको लागि सबैभन्दा पहिलो सर्त बलियो भौतिक निर्माण नै हो ।
भूकम्प प्रतिरोधात्मक संरचना निर्माणको लागि सरकारले नीतिगत निर्णय त गरेको छ तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जथाभावी भएको बस्ती विकास, साँघुरा बाटा, कमजोर संरचनाले गर्दा हामी स्वयंले असुरक्षा निम्त्याइएको छ । नेपालको हिमाली र पहाडी भागमा भूकम्पको जोखिम बढी देखिए पनि पूर्वदेखि पश्चिमसम्मकै क्षेत्र अति संवेदनशील भएको विज्ञहरुको भनाइ छ । तर, हामीले उनीहरुको चेतावनीलाई वेवास्ता गरिरहेका छौँ । भूकम्प नआओस् तर आइहालेमा यसले निम्त्याउने क्षति ठूलो हुनसक्छ भन्ने बिर्सेका छौँ ।
टर्की र सिरियाको भूकम्पले हिजोको हाम्रो अवस्थाको सम्झना गराएको छ । घर तथा भवन कति बलिया छन् भन्नेले क्षतिमा फरक पार्छ । नेपालीको बिर्सने बानी छ । २०७२ सालको भूकम्पको क्षतिपूर्ति नहुँदै,भूकम्पका कारण प्राकृतिक सन्तुलन बिग्रेको देख्दादेख्दै हामीले प्रतिकार्य तयारीमा लापरबाही गरिरहेका छौँ । यस्तो हुनुहुँदैन ।
