बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हवाइ रुटको व्यवस्थापन होस्

हवाइ रुटको व्यवस्थापन होस्


  • Dhorpatan News
  • फाल्गुन २ २०७९, मंगलबार

भारतीय विदेश सचिव विजयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमणमा रहेका छन् । नेपालमा रहँदा उनले राष्ट्रपतिदेखि प्रधानभमन्त्री एवं राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी नेपालमा रहेकै बेला नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक पनि सम्पन्न भएको छ । परराष्ट्र मन्त्रीसँग उनले भेटघाट गरिसकेका छन् र भेटको क्रममा उर्जा, पारवहन, शिक्षा, संस्कृतिलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक छ । यो सम्बन्धमा बेलाबेला कटुता र शंकाको वातावरण पनि सिर्जना हुँदै आएको छ । सीमा विवाद एकातिर छ भने व्यापारमै पनि भारत उदार नभइदिँदाका समस्याहरु अर्कोतिर रहेका छन् ।नेपालको निर्भरतालाई भारतले उदारतापूर्वक सहयोग नगरेको पनि देखिएको छ । उच्चस्तरीय भ्रमणहरुले अविश्वास हटाउने र सहकार्य मजबुत बनाउने विश्वास लिइएको छ । यस्ता उच्चस्तरीय छलफलहरुमा नेपाली पक्षले आफ्ना कुरा स्पष्टसँग राख्न सक्नुपछृ । यो भ्रमणको क्रममा नेपालले अन्य विषयसहित हवाइ रुटको समस्या समाधानको लागि अनुरोध गरिनुपर्छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । तर, भारतले भैरहवा हुँदै उडान अनुमति नदिँदा यहाँबाट अन्तर्राष्ट्रिय उडान सम्भव भएको छैन । नेपालले नेपालगञ्ज हुँदै गरिने उडानको सट्टा भैरहवा रुट मागेको लामो समय भयो तर त्यसमा प्रगति हुन सकेको छैन ।

भारतीय पक्षले सुरक्षालगायतका कारण देखाउँदै रुट नदिँदा गौतम बुद्ध र पोखरा विमानस्थल सेतो हात्ति बन्ने त हैन भन्ने चिन्ता थपिएको छ । भारतीय पक्षलाई विश्वासमा नलिएसम्म नेपालले तेस्रो राष्ट्रलाई विद्युत बेच्न सक्दैन । बंगलादेशलाई विद्युत बेच्नको लागि भारतको सहयोग अपरिहार्य छ । यो विषयलाई पनि नेपालले गम्भीरतापूर्वक उठाउन सक्नुपर्छ । सीमा क्षेत्रमा हुने गरेका ज्यादति, अपराध नियन्त्रण र मुख्य कुरा व्यापारमा सहजीकरणलाई नेपालले छलफलका एजेण्डाहरु बनाउनुपर्छ । पछिल्लो समय नेपालको व्यापार घाटा चुलिँदै गएको छ । भारतसँगको घाटा कम गर्न कृषि उत्पादनलाई सहजै भारत प्रवेशको अनुमति आवश्यक पर्छ । यसको लागि अनुरोध हैन, दवाव नै सिर्जना गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->