दृष्टिविहीन शिक्षक विकल थापालाई अपाङ्गताकै कारण देखाएर विद्यालयमा हाजिर हुनबाट वञ्चित गरिएको छ । बागलुङ ३ मा रहेको विद्यामन्दिर माविले रमानापत्र लिएर जाँदा पनि उनलाई पढाउनबाट वञ्चित गरिएको थापाले जिकिर गरेका छन् । विद्यालयले अपाङ्गताकै कारणबाट उनलाई कक्षा कोठामा पस्न नदिएको हो भने, त्यहाँभन्दा ठूलो अमानवीय र दण्डनीय व्यवहार अरु हुनै सक्दैन । यो नेपालको संविधान २०७२,अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन २०७४ र नियमावली २०७७ को ठाडो उल्लंघन पनि हो ।
नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानपूर्वक बाँच्न पाउने,कानूनको दृष्टिमा समान हुने,भेदभाव नगरिने,अपाङ्गता भएका व्यक्तिहरुलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्यको निकायहरुमा सहभागिताको प्रत्याभूत गरेको छ । अपाङ्गतासम्बन्धी नियमावली २०७७ ले पूर्ण असक्त, अति असक्त,मध्यम असक्त गरी चार किसिमका असक्तहरुलाई परिचयपत्रको व्यवस्था गरेको छ ।
उनीहरुले पाउने सुविधाका बारे व्यवस्था गरिएको छ । सामान्य नागरिकले भन्दा उनीहरुले विशेष सुविधा पाउनुपर्छ भन्ने मान्यतालाई कानूनले स्थापित गरिदिएको छ । अपाङ्ग हुनु भनेको क्षमता गुमाउनु हुँदै होइन । अपाङ्गहरुले अवसर पाएको ठाउँमा आफूलाई सपाङ्गभन्दा अब्बल सावित् गरेका छन् । पढाइकै कुरा गर्ने हो भने,दृष्टिविहीन र अन्य किसिमका अपाङ्गता भएका शिक्षकहरु सपाङ्गभन्दा सक्षम देखिएका छन् । यस्तोमा उनीहरुलाई अवसर दिनुपर्छ । सम्मानपूर्वक बाँच्ने वातावरण निर्माणमा सघाउनुपर्छ । हो, नेपालका पूर्वाधारहरु अपाङ्गमैत्री छैनन् । त्यसमा सुधार जरुरी छ । अफ्ठेरो परिस्थितिमा पनि अपाङ्गता भएकाहरुले आफूलाई कसरी सम्हालेका छन्, कसरी सामान्य भेदभावलाई नजरअन्दाज गरेका छन् भन्ने कुरालाई बिर्सनु हुँदैन ।
अपाङ्गता भएकाहरु हेपिएका छन् तर साँच्चै भन्ने हो भने, उनीहरु त्यसलाई पचाउँदै बाँच्न अभ्यस्त बनेका छन् । उनीहरुले आफूमाथि अभद्र व्यवहार गर्नेहरुलाई क्षमा दिँदै आएका छन् । कानूनी उपचार खोजेका छैनन् । अपाङ्गलाई होंच्याउने हाँस्य कार्यक्रमदेखि सार्वजनिक ठाउँमा हुने भेदभाव, विभिन्न उखान टुक्काको माध्यमबाट गरिने भेदभावविरुद्ध उनीहरु अझै खरो रुपले प्रस्तुत भएका छैनन् । अपाङ्गता भएकाहरुको यही सद्भावलाई कमजोरी ठान्नेहरुले भने मानवीयता बिर्सेका छन् ।
अपाङ्गता कुनै पाप हैन, सपाङ्ग व्यक्तिहरुले जुनसुकै बेला पनि अपाङ्ग बन्ने अवस्था आउनसक्छ भन्ने बिर्सिँदा त्यस्तो भएको हो । अपाङ्गता भएकै कारण भेदभाव र हेला गर्नु कानून मान्दिन भन्नु र अमानवीय चरित्र प्रदर्शन गर्नु हो । अहिले विकलमाथि जुन व्यवहार भएको छ, त्यो दण्डनीय छ । सम्बन्धित निकायले विकलमाथि भएको अमानवीय व्यवहारको छानबिन गरी उनलाई न्याय दिनुपर्छ । अपाङ्गता भएकाहरुमाथिको ज्यादति बन्द गरिनुपर्छ ।
