बागलुङ जिल्लामा हात्तीपाइलेविरुद्धको अभियान सुरु भएको छ । यही अभियानअन्तर्गत २ लाख ५६ हजारभन्दा बढी नागरिकलाई ओखती खुवाउने लक्ष्य राखिएको छ । बागलुङमा हाल २४४ जना हात्तीपाइले संक्रमित रहेकाले १४ औं पटक ओखती अभियान चलाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमितबाट अर्को व्यक्तिमा सर्ने यो रोगको निदान भनेकै औषधि सेवन हो । तर, स्वास्थ्यकर्मीले प्रदान गरेको ओखती नखाने, घर लगेर फालिदिने,हात्तीपाइले विरुद्धको अभियानमा संक्रमित नै छुट्ने लगायतका कारणबाट बागलुङमा रोग उन्मूलन नभएको स्वास्थ्यकर्मीको भनाइ छ । विश्व स्वास्थ्य संगठनका अनुसार ५ वर्षसम्म लगातार ओखती खाए हात्तीपाइले निको हुन्छ । ६ वर्षमा ६ पटक ओखती खाएकाबाट रोग अर्को व्यक्तिमा सर्दैन् तर बागलुङमा १३ पटकको प्रयास पनि सफल हुन सकेन ।
नेपालका धेरैजसो जिल्लामा हात्तीपाइले रोग उन्मूलन भइसकेको छ । तर, बागलुङ,लमजुङलगायतका केही जिल्लामा भने बाँकी नै छ । लामखुट्टेको टोकाइबाट फैलने तथा रोग लागेपछि खुट्टाहरु हात्तीको जस्तो हुने यो रोगले कामकाज गर्न नसक्ने बनाउँछ । लामखुट्टेको टोकाइबाट बँच्नु एउटा कुरा हो तर रोग लागिसकेपछि भने औषधिको विकल्प हुँदैन । नेपाल सरकारले यो रोगको औषधि निःशुल्क वितरण गर्छ भने तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको टोलीहरु सम्बन्धित ठाउँमै पुगेर औषधि अभियान सुरु गर्छन् ।
अहिले बागलुङसहित पर्वत र लमजुङमा यही अभियान चलेको छ । अभियानलाई सघाउन स्वास्थ्य कार्यालयले आम नागरिकसँग आग्रह गरेको छ भने बागलुङमा मात्र ५ सय बढी स्वास्थ्यकर्मी र वडा तहमा जनप्रतिनिधि यो अभियानमा खटिएका छन् । प्रचारमा कुनै कसर बाँकी राखिएको छैन । कतिसम्म भने धार्मिक गुरुहरुमार्फत् पनि हात्तीपाइलेविरुद्धको अभियानबारे जानकारी गराइएको छ । रोग लाग्नै नदिनु सबैभन्दा राम्रो हो । लागिसकेपछि उपचारमा हेलचेक्रयाइँ गर्नु हुँदैन भने आफू रोग सार्ने कारक बनिन्छ कि भन्नेमा पनि सचेत हुनुपर्छ । अतः रोग लागेकाले औषधि खानैपर्छ । रोग नलागेकाले पनि लागिहाल्छ कि भनेर आफू र आफन्तलाई औषधि खुवाउनुपर्छ । औषधिले कुनै बेफाइदा गर्दैन । औषधिले रोग लाग्नबाट बचाउँछ । यो सामान्य तथ्यलाई मनन गरौं, बिन्ती ओखती चाहिँ खाऔं ।
