कांग्रेस नेता चन्द्रभण्डारी र उनकी आमा आगोलागिमा गम्भिर घाइते भए । आमाको त मृत्यु नै भयो । नेता भण्डारीको भारतमा उपचार भैरहेको छ । ग्यास लिग भएर आगो लागि भएको वा बिस्फोट भएर आगोलागि भएको भन्ने अझै दुइथरी कुरा आइरहेका छन् । तर ग्याँसबाट आगो लागेको भन्ने चाँही सत्य हो । त्यसको भोलीपल्टै सुर्खेतमा पनि आगोलागेर तीन जना घाइते भए । काठमाण्डौमा त दैनिक जसो सिलिण्डर लिग भएको, पड्केको आगोलागि र मृत्युका घटनाहरु भैरहेका छन् ।
यी घटना आजकल सामानय जस्तो लागेपनि घटना न्युनिकरणकालागि भने चासो र चिन्तन भएको देखिंदैन । केहीबर्ष अघि यस्ता घटना खासै सुनिने थिएनन् । आजकल बढीरहेका छन् । त्यसको पछि हाम्रो देशमा प्रयोग हुने ग्याँसका सिलिण्डरहरु क्रमश कमजोर बनिरहेको पुष्टी हुन्छ । नेपालमा बीस तीस बर्षदेखि प्रयोग भएका सिलिण्डरको सामान्य मर्मत पनि भएको छैन । न त हामीले भान्छाको ग्याँसमा जोडिएको पाइप लाइन फेरेका छौं । न ग्याँसको सिलिण्डरको गुणस्तर र बनेको तथा मिति सकिएको हेरेका छौं ।
नेपालमा जतिपनि कंपनीहरु आएका छन् उनीहरुले सामान बेच्ने काम मात्रै गरेका छन् । आफ्नो कंपनीको गुणस्तरको बारेमा चासो छैन । कुनै घटना हुँदा कसरी भयो भनेर सामानय छानविन पनि भएका छैनन् । प्रयोगकर्ताको कमजोरी वा जसको मृत्यु भयो उसैको दोष देखाउने नेपाली प्रवृत्ति अहिले पनि छ । यो अबस्थाले अहिले पनि नेपालमा कंपनीहरुले आफ्नो सेवाको कमीकमजोरी बारे समीक्षा गरेका छैनन् । कतै हाम्रा सामान गुणस्तर हिन त छैनन् ? त्यो प्रश्न समेत नगरी दशौबीसौं बर्ष सम्म ती सामान प्रयोग गरिरहेकोले यस्तो घटना भएको कुरा स्पष्ट छ ।
कमजोरी गरेकै भएपनि नेपालमा राज्य प्रशासनले कहिले पनि व्यपारी, कंपनी र साहुमहाजन तथा नेतालाई कारवाही गरेको रेकर्ड छैन । भ्रष्टाचार ठहर भएकाहरु वा अन्य कसुर सजाए पाएकाहरु खुलेआम हिड्ने अबस्था भैरहेको छ । यो अबस्थाले कानूनी शासनको खिल्ली उडाएको छ । तसर्थ दैनिक हुने दुर्घटना र मानवीय क्षतिमा कुनै समीक्षा भएको देखिदैन । यो अबस्थाले घरघरमा बम राखेको अनुभव भएको भन्ने धेरै टिकाटिप्पणी आइरहेका छन् । तर त्यसतर्फ ध्यान दिएर आम नागरिकको सुरक्षामा अहिले पनि चासो दिएको पाईदैन ।
त्यस्तै बिद्युत बितरणमा भएको लापरबाहीले पनि धेरै नेपालीको ज्यान गैरहेको छ । घरको वायरिङमा करेन्ट लागेर होस् वा हाइटेन्सन र अन्य लाइनमा काम गर्दा सबै अबस्थामा धेरै मानिसको मृत्यु भैरहेको समाचार मात्रै पढ्न पाइन्छ । आजकल बिद्युतीय उपकरणबाट खाना पकाउने चलन बढेपनि सुरक्षामा चासो बढेको छैन । यस्ता घटनाले सचेत बन्ने अबसर त सिर्जना गरेको छ तर हाम्रा सबै संयन्त्र कमजोर भएकोले घटना न्युनिकरणमा कुनै वास्ता छैन । बजार क्षेत्र र जंगलका रुखले छुने गरी नाङगा तारहरु राखिनु दुर्घटनाको जोखिम हो । ती तारकै कारण हावाहुरी लाग्दा दैनिक दर्जनौपटक बिद्युत सेवा अबरुद्ध भैरहेको हुन्छ । त्यसप्रति पनि कसैको ध्यान पुगेको देखिंदैन । मानवीय कमजोरीका कारण भएका यस्ता हरेक दुर्घटना जोगाउन समयमै ख्याल गरिनु जरुरी छ । अन्याथा घटनापछि पछुताएर केही हुने अबस्था छैन ।
