बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्राविधिक जनशक्तिले दायित्व नभुलोस्

प्राविधिक जनशक्तिले दायित्व नभुलोस्


  • Dhorpatan News
  • फाल्गुन ११ २०७९, बिहिबार

स्थानीय तह भनेको जनताको नजिक रहेको अधिकार सम्पन्न सरकार हो । संघीय संरचनापछि स्थानीय तहले विकास निर्माणका महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको छ । भौतिक निर्माणको क्षेत्रका ठूला परियोजनाबाहेको सबै जिम्मेवारी स्थानीय तहसँगै छ । अहिले स्थानीय तहहरुले विकास बजेटको ठूलो मात्रा भौतिक निर्माणमा खर्च गरिरहेका छन् । प्रशासनिक भवन,सडक र अन्य पूर्वाधार निर्माणका कामहरु धमाधम अगाडि बढिरहेका छन् । जनप्रतिनिधिहरुले अगाडि सारेका त्यस्ता भौतिक निर्माणको सम्भाव्यता अध्ययन, डिजाइन र निर्माण सम्पन्न गर्ने दायित्व प्राविधिकहरुकै हो । तर, दुःखका साथ भन्नुपर्छ–कयौं योजनाहरु प्राविधिक अध्ययन बिना नै अगाडि बढाइएका छन् । जनप्रतिनिधिहरुको स्वार्थ र प्राविधिक जनशक्तिको अभाव दुबै कारण त्यस्तो हुन गएको हो ।

स्थानीय तहले अगाडि सारका योजनाहरु विकासको पहिलो उपभोक्ता पनि स्थानीय तह नै हो । यसर्थ, स्थानीय तहका जनप्रतिनिधिहरुले आवश्यकता अनुरुपका योजनाहरुको चाहना राख्नु अन्यथा हैन । त्यस्ता भौतिक परियोजना निर्माणका योजनाहरु प्राविधिक रुपले गलत हुनुहुँदैन । भौतिक निर्माणको क्रममा गरिने इञ्जिनियरिबमा हेलचक्रायाइँ क्षम्य हुँदैन । पालिकाहरुले इञ्जिनियरको परामर्श र डिजाइन अनुसारकै भौतिक निर्माण गर्नुपर्छ । डोजर अगाडि लगाएर गरिने विकासे योजनाले दीगो विकास सम्भव हुँदैन । तर, केही पालिकाहरुले भने अहिले पनि दक्ष प्राविधिकको अभाव झेलिरहेका छन् । दूरदराजका पालिकाहरुमा इञ्जिनियरहरु लामो समय नबस्ने, नियुक्ति लिए पनि कार्यक्षेत्रमा नबस्नेलगायतका समस्याहरुको अन्त्य हुन सकेको छैन ।

बागलुङको काठेखोला गाउँपालिका यसको उदाहरण हो । इञ्जिनियरको अभावमा योजना कार्यान्यनमा जटिलता उत्पन्न भएको पालिकाले जनाएको छ । एक वडा, एक प्राविधिकको व्यवस्था भनिए पनि प्राविधिक नआउने र आएकाहरुले पनि बढी सेवा–सुविधा खोज्ने गरेको पनि जनप्रतिनिधिहरुले बताएका छन् । यस्तो समस्या देशैभरका पालिका र वडाहरुले भोगेका छन् । कतिपय अवस्थामा चाहिँ दरबन्दी अनुसारका प्राविधिक नहुँदा एउटैले बढी काम गर्नुपर्ने बाध्यता पनि छ । उनीहरुको पीडाको पीडाको संवोधन हुनुपर्छ तर दूरदराजका गाउँमै नजाने र बढी सेवा–सुविधा खोज्ने प्रवृत्तिबाट भने इञ्जिनियरहरु पनि मुक्त हुनुपर्छ । नेपाल इञ्जिनियरीब काउन्सिलमा ४४ इञ्जिनियरीङ विधाका ६४ हजारभन्दा धेरै इञ्जिनियरहरु दर्ता भएका छन् ।

अहिले देशमा भौतिक निर्माणले गति लिएको अवस्था छ । यो प्रक्रियामा इञ्जिनियरहरु सामेल हुनैपर्छ । राष्ट्र निर्माणको महान अभियानमा लाग्नु उनीहरुको कर्तव्य र दायित्व दुबै हो । यो वा त्यो बहानामा उनीहरुले उन्मुक्ति पाउनुहुँदैन । नेपालमा इञ्जिनियरलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । दृष्टिकोण सकारात्मक बनाउने पहिलो दायित्व निसन्देश उनीहरुकै हातमा रहन्छ । हो, विकास निर्माणका कार्यहरु कार्यान्वयन गर्दा, सम्बन्धित सरोकारवाला निकायहरुबाट पूरा गर्नुपर्र्र्नेदायित्व समयमै पूरा नहुनु, समयमै बजेट उपलब्ध नहुनु, आवश्यक समन्वय तथा सहकार्य नहुनु एवं कार्यान्वयनमा ढिलासुस्तीको दोष पनि इञ्जिनियरमाथि थोपर्ने गरिएको छ । तर, त्यसलाई इञ्जिनियरहरुले नै चिर्नुपर्छ । राम्रो काम गर्नेलाई समाजले साथ दिन्छ भन्ने इञ्जिनियरहरुले बुझ्नैपर्छ । अनावश्यक दबाबको अगाडि नझुक्ने र नियम विपरीत काम नगर्ने अडान लिने हो भने उनीहरुलाई जनताले साथ दिन्छन् । त्यसको दृष्टान्त त पुनःनिर्माणको क्रममा उनीहरुले राखेका माग र पाएको साथ छँदैछ । इञ्जिनियरहरुले पेशाप्रतिको दायित्व भुल्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->