तनहुँका नेता रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति बनेका छन् । राष्ट्रपतिको प्रतिस्पर्धामा उनलाई १० वटा दलको अपार समर्थन प्राप्त भयो । नेपाली कांग्रेसमा आवद्ध भएर,समाजवादी चिन्तन बोकेर उपप्रधानमन्त्री, सभामुख भइसकेका पौडेललाई समकालीन राजनीतिमा आदर्श व्यक्तित्वको रुपमा लिइन्छ । पार्टीको राजनीतिमा उनी कांग्रेसको कार्यवाहक सभापति त भए तर सभापति र प्रधानमन्त्री हुन असमर्थ रहे । प्रधानमन्त्री हुने चाहना राख्दै आएका पौडेललाई जीवनको उत्तरार्धमा अन्ततः देशको सर्वोच्च सम्मानित राष्ट्रपति पद प्राप्त भयो । राष्ट्रपति साझा पद हो । अब उनी कांग्रेसका नेता नभएर राष्ट्रको अभिभावक बनेका छन् । सभामुखको भूमिका निभाइसकेका उनी स्वयंले राष्ट्रपतिको गरीमा कस्तो हुन्छ देखाउने उद्घोष गरेका छन् । राष्ट्रपति भएसँगै उनको परीक्षण सुरु भएको छ ।
संघीय गणतान्त्रिक नेपालका प्रथम र द्धितीय राष्ट्रपतिहरु विवादबाट मुक्त भएनन् । प्रथम राष्ट्रपति डा. रामवरण यादवले अधिकारभन्दा बाहिर गएर प्रधानसेनापतिको थमौति गरिदिएको आरोप लाग्दै आएको छ । भला ,त्यो प्रकरणमा उनलाई देशका प्रमुख दलहरुको साथ थियो । राज्यकोषबाट पटक–पटक उपचारको नाममा रकम लिएको, सुविधा बढी खोजेको भन्ने आरोप पनि उनीमाथि लाग्दै आएका छन् । यद्यपि, उनको सादगीको प्रशंसा गर्नेहरुको कमी छैन ।
दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल त झन विवादास्पद बन्न पुग्यो । उनीमाथि पार्टीप्रतिको मोह छाड्न नसकेको, तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक संसद विघटनलाई दुई पटकसम्म सदर गरिदिएको,कार्यपालिकामा अनावश्यक भाग खोजेका जस्ता आरोपहरु लागे । केही विधेयकहरु रोकेको भन्दै उनको आलोचना पनि भयो । सर्वोच्च अदालतले नै संसद विघटनलाई बदर गरेपछि राष्ट्रपतिमाथि औंला ठड्याउनु अस्वभाविक थिएन । यद्यपि, प्रधानमन्त्रीले लगेको प्रस्ताव सदर गर्नु राष्ट्रपतिको कर्तव्य नै थियो । अनावश्यक आडम्बर प्रदर्शन,राजाको जस्तै सवारी चलाउनेजस्ता उनी लक्षित गुनासाहरु प्रसस्तै छन् ।
राष्ट्रपतिकै गतिविधिहरुका कारण यो सर्वोच्च संस्थाप्रतिको आदर हराउँदै गएको छ । रामचन्द्रमाथि सर्वोच्च संस्थाको गरीमा उच्च बनाउने दायित्व आइलागेको छ । संवैधानिक राष्ट्रपतिको सिमा र मर्यादाभित्र बस्दै सर्वोच्च संस्थाको मर्यादा बढाउनु उनीमािथको चुनौती हो । खारिएका यी राजनेताले त्यो दायित्व निर्वाह गर्छन्, अनावश्यक आडम्बर प्रदर्शन गर्ने छैनन् भन्ने आम नागरिकको आशा छ । रामचन्द्रबाट त्यो आशामाथि तुषारापात नहोस् । उनलाई शुभकामना !
