बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरालाई सिंगारौं, नबिगारौं

पोखरालाई सिंगारौं, नबिगारौं


  • Dhorpatan News
  • फाल्गुन ३० २०७९, मंगलबार

चुनावी सभामा नै पोखरामा मेयर धनराज आचार्यले आफ्नो कार्यकालको पहिलो वर्ष योजना निर्माणमा खर्चने उद्घोष गरेका थिए । मेयर आचार्यले महानगर स्थापनाको छैटौं वार्षिकोत्सवको अवसरमा महानगर योजनावद्ध विकासको अभियानमा रहेको जिकिर गरे । उनले गुरुयोजनासहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको पनि जानकारी गराए । पोखरा धेरै कोणबाट बिग्रिसकेको छ । योजनाविहीन पूर्वाधार निर्माण र बढ्दो जनसंख्याको चाप अनुसारको पूर्वाधार निर्माणमा चुक्दा यो अवस्था आएको हो । यो सुन्दर सहर बिग्रिएको छ । सहरी पूर्वाधारहरुले यहाँको जनसंख्यालाई नधान्ने अवस्था सिर्जना भएको छ । यो सहर कुरुप हुने हो कि भन्ने आशंका उत्पन्न हुन थालेको छ । यो अवस्थामा मेयरको उद्घोषले केही आशा भने बढाएको छ ।

राजविराजपछि सबैभन्दा पहिला भौतिक विकासको योजना बनाएको पोखरा पनि यो मामिलामा पछाडि छ । २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाईमा इञ्जिनियर पदमबहादुर क्षेत्रीले पोखराको भौतिक विकासको योजना बनाएका थिए । १८० वर्गकिलोमिटरक्षेत्रमा फैलिएको तत्कालीन पोखरा नगरपञ्चायतमा बाटो कस्तो बनाउने, बस्ती कहाँ विकास गर्ने, आवश्यक पूर्वाधारहरु कस्तो बन्नेलगायतका योजना समेटिएका थिए । सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गसँग पोखराका बाटाहरु जोड्दै मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका सबै घरका छतबाट ताल हेर्नेगरि योजना बनाइएको थियो । व्यक्तिको जग्गा लिएर त्यहाँ पूर्वाधार विकास गर्ने र त्यो जग्गाबापत् नागरिकलाई जग्गा नै फिर्ता दिने ‘ल्याण्ड पुलिङ’ पनि यहाँ सुरु गरिएको थियो । ल्याण्ड पुलिङ अवधारणाबाटै पोखराको न्यूरोड बनेको हो ।

भौतिक विकास योजना अनुरुप त्यो बेला धेरैजसो जग्गाहरु अधिग्रहण गरिए ।अहिलेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि सरकारी कार्यालय भएको क्षेत्र, पोखरा बसपार्क,रंगशाला त्यहीबेला अधिग्रहण गरिएको थियो । रंगशालामा हाल आएर केही संरचना बनेको देखिएको छ । पोखरा क्षेत्रीय विमानस्थल निर्माणको क्रममा छ भने बसपार्कको लागि छुट्याइएको जग्गा अतिक्रमणको चपेटामा परेको छ । योजना अनुसार काम भएको भए साँच्चै पोखरा सुन्दर हुने थियो । शंकरराज पाठकपछि आएका अंचलाधीश र पोखरा नगरपञ्चायतले सो योजना कार्यान्व्यनमा ल्याउन सकेन ।

तत्कालीन योजना दराजमा थन्किएपछि पनि विभिन्न कालखण्डमा पोखराको बृहत्तर विकासको लागि योजना बन्ने क्रम जारी रह्यो । तर, ती योजनाहरु कार्यान्वयनमा आउन सकेनन् । सुन्दर पोखराबारे गरिएका अनुसन्धानतिर पनि कसैको ध्यान गएर । थाइल्याण्डको प्रसिद्ध एसियन इन्ष्टिच्यूट अफ टेक्लोलोजीमा ( एआइटी) मा मात्रै पोखराबारे गरिएका ७० भन्दा बढी थेसिसहरु थन्किएका छन् । त्यतातर्फ कसैको ध्यान गएको छैन । पोखरालाई अन्तर्राष्ट्रिय सहर भनिन्छ । अन्तर्राष्ट्रिय सहरलाई चाहिने पूर्वाधार बन्न सकेका छैनन् । सार्वजनिक शौचालयसमेत नभएको सहरलाई अन्तर्राष्ट्रिय सहर कसरी भन्ने ? यहाँका बाटाहरु साँघुरा भइसकेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पुस्तकालय, नाचघर,कला संग्रहालयजस्ता अत्यावश्यक पूर्वाधार त परका कुरा हुन् ।

जथाभावी मापदण्ड मिचेर बनाइएका भौतिक संरचनाले सहरलाई कुरुप बनाइदिएको छ । पोखराको पर्याय मानिएको फेवाताल अतिक्रमण र प्रदुषणको चपेटमा परेको छ । त्यसलाई संरक्षण गर्ने दीर्घकालीन योजना पटकपटक बनेपनि कार्यान्वयमा आएको छैन । अर्कोतिर पोखरालाई सुन्दर प्राकृतिक सहर बनाउने योजनामा धक्का लागिसकेको छ । धेरै कुरा बिग्रिएको छ । मानवीय सूचकांकमा अगाडि देखिएपनि पोखराले धेरै कुरा गुमाएको छ । मापदण्डमा कडाइ गर्ने, भएका योजनाहरुलाई कार्यान्वन गर्ने र दीर्घकालीन सोचका साथ नयाँ योजना बनाउने हो पोखरालाई अन्तर्राष्ट्रिय सहरको रुपमै विकास गर्न सकिने सम्भावना सकिएको छैन । यसका निम्ति नयाँ पूर्वाधार निर्माण र अव्यवस्थित सहरीकरणबाट जोगाउने कामको तत्काल थालनी जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->