बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राष्ट्रपतिको सह्रानीय सवारी !

राष्ट्रपतिको सह्रानीय सवारी !


  • Dhorpatan News
  • चैत्र ५ २०७९, आइतबार

नेपालका नेताहरुको एउटा बानी छ–सानो कुरामा चुक्ने ।सत्ता बाहिर रहँदा एउटा र सत्तामा पुगेपछि अर्को कुरा र व्यवहार प्रदर्शन गर्नु उनीहरुको आम चरित्र हो । राष्ट्रपतिदेखि प्रधानमन्त्री,मन्त्रीदेखि सांसदसम्मलाई यो रोगले गाँजेको छ । नागरिक समाज, स्वतन्त्र संचारमाध्यमको खबरदारीले पनि उनीहरुलाई छुँदैन । जनतालाई सास्ती दिनेगरि हुने राष्ट्रपतिको सवारी त्यसको ज्वलन्त उदाहरण हो ।

नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले यो परम्परालाई परिमार्जन गर्ने प्रयत्न गरेका छन् । शनिबार कारकेड ( जनताले बुझ्ने भाषामा भन्ने हो भने लावालस्कर) नलिइ कुमारी घरमा कुमारीको दर्शन गर्न पुगेका छन् । यो सानो कामबाट उनले प्रशंसा पाएका छन् । उनीबाट जनताले अब जीवित देवीको दर्शन गर्दाकै परम्परा पछ्याउने अपेक्षा गरेका छन् । यसअघि लावालस्करसहित पशुपति पुग्दा उनै राष्ट्रपतिको आलोचना भएको थियो । राष्ट्रपति सडकमा निस्कँदा सडक खाली गराउने परम्परालाई कम्तिमा नयाँ राष्ट्रपतिले परिमार्जन गर्ने प्रयत्न गरेका छन् । यो खुसीको कुरा हो ।

राष्ट्रपति जनताको प्रतिनिधि हुन् । राष्ट्रपति अमूक परिवारबाट आएको राजाको जस्तो सुरक्षा घेरामा नहिँडून् भन्ने जनचाहना हो । अर्कोतर्फ, लोकतन्त्रमा जनताले आफ्नो अधिकार खोज्छन् । राष्ट्रपतिको सवारीका कारण हुने असुविधाले उनीहरुलाई दुखित तुल्याउनु स्वभाविक नै हो । यो तथ्यलाई सुरक्षा निकाय र राष्ट्रपति स्वयंले मनन गर्नुपर्छ । जनताबाट चुनिएको राष्ट्रपतिले जनताकै बीचमा रहेको महशुस गराउन सक्नुपर्छ ।

तर, यसो भनिरहँदा राष्ट्रको सर्वोच्च पदमा रहेका व्यक्तिको सुरक्षामा लापरवाही स्वीकार्य हुँदैन । सुरक्षा खतरालाई मध्यनजर गर्दै संसारका विभिन्न देशहरुले सुरक्षा मापदण्ड बनाएका हुन्छन् । मित्रराष्ट्र भारतमै पनि राष्ट्रपति, प्रधानमन्त्री,विपक्षी दलका नेताहरुलाई विशेष सुरक्षा प्रबन्ध गरिएको हुन्छ । उनीहरु सुरक्षा घेरामै हिँड्छन् । सडकमै हिँडेको देखिए पनि त्यहाँ पर्याप्त सुरक्षाकमी परिचालित गरिएको हुन्छ । युरोपियन राष्ट्रहरुमा भने केही फरक देखिन्छ । त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीहरु साइकल चलाएर वा हिँडेरै कार्यालय गएको देखेर हाम्रोमा पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु अस्वभाविक हैन ।

भीडले संयमताको भाषा बुझ्दैन । नेपालमा पछिल्लो समय घृणा र आक्रोशपूर्ण मानशिकतामा बढोत्तरी देखिएको छ । राष्ट्रपतिले सहज र सरल बन्न खोजिरहँदा त्यस्तो प्रवृत्तिलाई नजरअन्दाज गर्न मिल्दैन । सुरक्षा निकायले सुरक्षा प्रोटोकल बनाउँदा वा परिमार्जन गर्दा यो विषयमा भने ख्याल गर्नुपर्छ । तामझामपूर्ण लावालस्कर कारण जनताले दुःख पनि नपाउन् र सुरक्षामा चुक पनि नहोस् भन्नेमा ख्याल राख्नुपर्छ । राष्ट्रपतिको शनिबारको सवारी जनता सन्तुष्ट देखिएका छन् । जनताको राष्ट्रपति बन्ने यो अभियानलाई चाहिँ निरन्तरता नै दिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->