बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

श्रष्टाको सम्मान गरौं

श्रष्टाको सम्मान गरौं


  • Dhorpatan News
  • चैत्र ६ २०७९, सोमबार

दुर्गा बराल ‘वात्सायन’ २०७९ चैत ५ गते बाट ८१ वर्षमा टेकेका छन् । वात्सायन नेपाली कला र व्यङ्ग्य चित्रका बादशाह ! व्यङ्ग्य चित्रमार्फत् विकृति र विसंगतिमाथि धावा बोल्ने लोकतन्त्रका सच्चा पहरेदार अनि कलामार्फत् प्रकृतिको लालित्य पस्कने महान शिल्पी । हो,उनै वात्यासयन शनिबार अभिनन्दित भएका छन् । पोखरेली सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा रहेका दर्जनभन्दा बढी संघ÷संस्थाले उनलाई सम्मानित रथारोहणसहित अभिनन्दन गरेका हुन् ।

पोखरेली सांस्कृतिक परिवार पोखराको कला,साहित्य र संगीतको उत्थानको लागि क्रियाशिल संस्था हो । उसैले वात्सायनजस्तो मूर्धन्य व्यक्तित्वलाई रथारोहण र अभिनन्दनको चाँजोपाँजो मिलायो । वात्सायनले त्यसलाई स्वीकारे । सरल स्वभावका वात्सायन चर्चा रुचाउँदैनन् । उनले कयौं संस्थाबाट आएको सम्मानको आग्रह लत्याइदिएका छन् । उनी त्यसैले महान छन् । महान व्यक्तिहरुले चर्चा चाँहदैनन् र आफूलाई सिर्जनामै दत्तचित्त बनाउँछन् । दुर्गा बराल अर्थात् वात्सायनले गरेकै त्यही हो । र, पोखरेलीले एक महान व्यक्तित्वलाई उनकै जीवनकालमा सम्मान गर्ने अवसर पाए । यो अवसर जुटाउने पोखरेली युवा सांस्कृतिक परिवार र स्वीकार्ने बराल दुबैलाई पोखरेलीले धन्यवाद ज्ञापन गर्नुपर्छ ।

नेपालमा श्रष्टाहरुको सम्मान गर्ने सुसंस्कृत परम्पराको विकास हुन सकेको छैन । जो वास्तविक श्रष्टा हुन्,उनीहरु अवहेलनामा पर्ने र अवसरबाट बञ्चित हुँदै आएका छन् । छन् त यहाँ कला, संस्कृति,साहित्यको उत्थानको लागि एकेडेमी नै छ तर एकेडेमीबाट यस्तो कृत्य विरलै हुने गरेको छ । एकेडेमीमा अमूक दलको पुच्छर समाउने र नेताको भजन गाउनेहरु पुग्ने गरेका छन् । उनीहरुबाट सुयोग्यको कदरको अपेक्षा गर्न सकिँदैन । पुरस्कार र सम्मानको लागि नेताको दैलो चहार्ने, कयौं व्यक्ति गुहार्ने र त्यसकै आलोकमा आपूm आलोकित हुने स्वनामधन्यहरुको पनि यहाँ कमी छैन । यस्तो परिस्थितिमा जो गतिलो र सम्मानयोग्य छ, ऊ पछि नै पर्छ ।

यो अवस्थाको अन्त्य हुनैपर्छ । राज्य र राज्यकोषबाट संचालित एकेडेमीलगायतका संघ÷संस्थाले नगरेको काम अहिले पोखरेली सांस्कृतिक परिवारले गरेको छ । यो परम्परालाई अरु जिल्लाहरुले पनि पच्छ्याउनुपर्छ । सुयोग्य व्यक्तिलाई बेलैमा सम्मानित गरिनुपर्छ । तर,यो कामको दायित्व भनेको राज्यकै हो । सचेत नागरिकले राज्यलाई दवाव दिनैपर्छ । श्रष्टाहरुको जीवनयापनदेखि उनीहरुलाई सिर्जनाको अनुकूल वातावरण निर्माणमा पनि ध्यान दिनुपर्छ ।

वात्सायन नेपालले पाएका महान कलाकार हुन् । उनी सम्मानित भएका छन् । हामीले उनीबाट अझ बढी सिर्जना र समाजको विकृतिमाथि थप सचेत हस्तक्षेपको अपेक्षा गरेका छौँ । वात्सायनको दीर्घजीवन र सुस्वास्थ्यको कामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->