भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनाको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रहेको छ । गतवर्षको भन्द १९.९ प्रतिशतले कम भए पनि त्यसका आयात घट्नुको योगदान रहेको छ । देशको उत्पादकत्व वृद्धि वा निर्यातबाट यो अवस्था आएको हैन । साउनदेखि फागुनसम्म कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यातमा २९ प्रतिशतले कमी आएको छ ।
विदेशी मुद्रा संचितिा ह्रास आएसँगै सरकारले आयातमा कडाइ ग¥यो । गाडी, मदिरालगायत विलासी सामग्रीको आयातमा लगाइएको प्रतिबन्धका कारण व्यापार घाटा कम देखिए पनि आयातमा खुकुलोपनसँगै आयात बढ्न थालेको छ । त्यसको बदलामा निर्यात भने घट्दो उपक्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले विदेशी मुद्राको संचिति १३८३ अर्ब ३३ करोड (डलरमा १० अर्ब ५० करोड ) रहेको जनाएको छ । पछिल्लो समय विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.१ प्रतिशतले बढेको र बढ्ने क्रम जारी रहेको पनि नेपाल राष्ट्र बैंकको जिकिर छ । अघिल्लो वर्ष विप्रेषण घटेको थियो ।
नेपालको व्यापार घाटा हरेक वर्ष उकालो लाग्दो छ । आर्थिक वर्ष २०७२/०७३ मा ७०३ अर्ब रहेको घाटा बढेर चालु आर्थिक वर्षसम्म औषतमा १ हजार ४१ अर्ब भएको छ । आयातको सट्टा निर्यात वृद्धिको औषत दर भने दयनीय छ । जसले गर्दा नेपाल परनिर्भर बनिरहेको छ । खाद्यान्नदेखि दाँत कोट्याउने सिन्कासम्म विदेशबाट आयात हुँदा व्यापार घाटा बढ्न्ु अस्वभाविक हैन । आयातको तुलनामा निर्यात बढी हुनु राष्ट्र समृद्ध रहेको प्रमाण हो । व्यापार घाटा बढ्दा त्यसले दिगो विकास र आर्थिक समृद्धिको मार्ग अवरुद्ध बनाउँछ । नेपालको आर्थिक विकास यसै पनि सुस्त छ । बढ्दो घाटाले त्यसलाई मलजल गरेको छ ।
व्यापार (चालु) खातामा घाटा हुने भनेको स्रोत तथा पूँजी देशबाट बाहिरिने अवस्था पनि हो । मुलुकको समष्टिगत आर्थिक स्थितिको दिगोपनाका लागि मुलुकको व्यापार खाताको सन्तुलन हुनैपर्छ । लव्यापार घाटाले बाह्य स्थितिलाई अस्थिर र धान्न नसकिने बनाउँछ, मुलुकलाई झन् झन् ऋणी बनाउँदै लैजान्छ र अन्ततः देश आर्थिक रूपमा जर्जर र कमजोर बन्न पुग्छ । व्यापार घाटाले पूँजीगत खर्च बढाउँछ । देशबाट पूँजी बाहिरिनु भनेको उत्पादकत्व घट्नु हो, बेरोजगारी बढ्नु हो ।
व्यापार घाटा कम गर्न उत्पादकत्वमा जोड दिनुपर्छ । आयात घटाएर वा सबै कुरा आफैंले उत्पादन गर्छु भनेर पनि सम्भव छैन । तर, नेपालले विश्व बजारमा माग भएका र मूल्य श्रृंखलामा उच्च प्रतिफल दिने बस्तुको उत्पादनमा विशेष ध्यान दिनुपर्छ । नेपालले दैनिक उपभोग्य बस्तुदेखि तकारीसम्म्म आयात गर्ने गरेको छ । लागत महँगो हुँदा नेपाली उत्पादनभन्दा भारतीय वा अन्य देशका कृषि उपज सस्तो हुने अवस्था पनि देखिएको छ । खेतीयोग्य जमिनमा क्रंक्रिटको जंगल उमार्ने,निर्यात भइरहेका पस्मिनादेखि हस्तकलाका सामग्री उत्पादनमा ध्यान नदिने प्रवृत्तिले पनि व्यापार घाटा बढाएको छ । देशले लामो समयसम्म व्यापार घाटा धान्न सक्दैन । रेमिट्यान्सले देश धानिँदैन । अतः निर्यात र उत्पादकत्व बढाउनेतर्फ सरकारले दीर्घकालीन नीति तय गर्नैपर्छ ।
