चैतेदशै नेपालीको घरआगनमा आएको छ । नेपालीको ठूला चाडपर्व मध्ये चैतेदशैपनि एक हो । तर पछिल्लो समय चैतेदशै प्रति राज्यको नजर केही साँघुरो भएको छ । बिभिन्न जातजातीका अन्य चाडपर्वलाई सार्वजनिक बिदा दिने नेपाल सरकराले चैतेदशैको रातो अक्षरलाई काटेर क्यालेन्डरमा कालो अक्षरमा राखेको छ ।
चैतेदशै वडा दशैपछिको ठूलो चाड भएपनि बिदा कटौतीले एक दिन राज्यको सेवामा योगदान पुग्ला । तर कतै स्थानीय तहले त कतै प्रदेशले सार्वजनिक बिदा दिइसकेका छन् । बाँकी रहेका कार्यालयमा बसेर पनि कर्मचारीले कुन मनस्थितिमा काम गर्लान् । जे जस्तो भएपनि दशैको नाम दिइएको चाडको आफ्नै महत्व छ । देशभरी होला नहोला, बागलुङ, धौलागिरि क्षेत्र र गण्डकी प्रदेशमा चैतेदशैलाई धुमधामले मनाउने, छुटिएका परिवार भेटहुने र रमाइलो गर्ने चलन छ । बागलुङ कालीका मात्र हैन, गलकोट सहितका कालीका मन्दिर, कोतघरमा पनि धुमधामका साथ पूजा गर्ने र मेला भर्ने चलन छ । छिमेकी जिल्लामा पनि यो क्रम छ । लमजुङको कालीका र मालिका, गोरखा, स्याङजा, तनहुँ र नवलपुर सहित देवीका मठमन्दिर भएका सबैजसो स्थानमा चैतेदशै धुमधामका साथ मनाइने गरिएको छ ।
चैतेदशैमा बागलुङमा त झनै फरक प्रकारको महत्व छ । ६ सय बर्षदेखि स्वतस्फूर्त रुपमा कालीका मन्दिरमा पूजा गर्ने, मौलिक कलाका सामाग्रीहरु किनमेल गर्ने र लोक गीतसंगीत गाउने चलन छ । त्यो चलनमा केही परिमार्जन भएपनि अहिले सम्म चैतेदशै बागलुङे मेलैमा भन्ने भनाइ प्रचलनमा छ । यतिबेला त बागलुङ कालीका मन्दिरमा तराइका धेरै जिल्लाबाट भ्रमणकालागि आएका पर्यटक पनि प्रसस्त छन् । कतिपयले मन्दिरमा पूजा गर्नकैलागि आएका छन् भने कतिपयले यही मौका पारेर भ्रमणमा निस्केका छन् । यतिबेला बागलुङले पाहुना भित्राएर पर्यटनको अधिकतम फाइदा लिने बेला पनि हो ।
लामो समय कोरोनाले थिलो थिलो भएको नेपालको अर्थतन्त्र अहिले केही सुधार भैरहेको छ । कतिपय व्यपारीले बैंकको व्याजदर महंगो भएको लगायत माग गरेर अर्थतन्त्रप्रति नकारात्मक धारणा पनि राखेका छन् । तर यो समयलाई कोरोनापछिको खुला अबसरको रुपमा लिएर भ्रमण संस्कृतिलाई बढाउन सकेमा अर्थतन्त्र सुधार्नपनि सहयोग पुग्नेछ । यतिबेला घुम्ने संस्कृतिकालागि एकदुइ दिन बिदा दिंने हो भने कार्यालयमा बसेर काम गरेको मनस्थितिले भन्दा घुमेर देशको अर्थतन्त्रमा योगदान गर्न सकिने समय हो ।
यद्यपी नेपालमा सार्वजनिक बिदा धेरै भने भएका छन् । हरेक चाडपर्वमा बिदा दिने चलनले हाम्रा बिद्यालय, कार्यालय र सरकारी सेवा खुल्ने दिन थोरै भएका छन् । तर बिदा घटाउनेनै हो भने कर्मचारी, शिक्षक वा अन्य संस्थामा देशभ्रमण गर्ने प्रयोजनकालागि साता दशदिन सम्म बिदा दिने योजना ल्याउने हो भने त्यसले देशको अर्थतन्त्रलाई साथ दिन्छ । त्यो अबसर चैतेदशै देखि नयाँबर्षको समय सम्म किन नराख्ने ? बिदेशीको नयाँ बर्षमा रमाउने नेपालीलाइ आफ्नो क्यालेन्डरको नयाँ बर्षमा पनि रमाउने अबसर दिंदा पर्यटन प्रवद्र्धनमा सघाउु पूग्छ । भाषणमा पर्यटन प्रवद्र्धनका कुरा भैरहेको बेला राज्यले घुम्ने अबसर र समय पनि मिलाउन सक्नुपर्छ । त्यो चाहे चैतेदशैको अबसर पारेर होस् वा चाहे अन्य चाडलाई घुम्ने दिनको रुपमा परिचित बनाएर होस् । तर अत्याधिक गर्मी र अत्याधिक जाडो नभइसकेको समयलाई यो अबसर दिनुपर्छ ।
